राज्य व्यवस्था समिति बैठक: वंशजको नागरिकतालाई निरन्तरता दिन गैर आवासीय नेपालीको माग
काठमाडौँ । गैरआवासीय नेपालीले वंशजको आधारमा प्राप्त गरेको नागरिकतालाई निरन्तरता दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालको संविधान जारी भएपछि विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीले नेपाली नागरिक सरह मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै गरी गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष रविना थापा, वासुदेव घिमिरे, राजेन्द्र राउतलगायतले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई सरकारले निरन्तरता दिनुपर्ने माग गर्नुभयो ।
बैठकमा गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यले कुनै पनि नेपाली नागरिकले एकपटक नागरिकता त्यागेर गैर आवासीय नागरिकता लिएपछि वंशजको आधारमा नागरिकता पाउन नसकिने बताउनुभयो ।

निमित्त सचिव आचार्यले गैरआवासीय नागरिकता लिन चाहनेलाई गृहमन्त्रालयले सहज रुपमा वितरण गरिरहेको भन्दै गैर आवासीय नागरिकतालाई सहज बनाउन विभिन्न मन्त्रालयले ऐनहरु संशोधन गरिरहेको जानकारी दिनुभयो ।
बैठकमा समितिका सभापति रामहरि खतिवडाले संसारभर पुगेका गैरआवासीय नेपालीका सन्तानलाई कुनै पनि समस्या नपरोस् भनेर नागरिकता ऐनमाथि सुझाव माग गरिएको र आगामी दिनहरूमा पनि आवश्यकता अनुसार थप छलफल गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्