तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित 

काठमाडौँ । दलहरुबीचको छलफल र सभामुखको पटक पटकको प्रयासबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

पटक पटक समय सार्दै बेलुका सवा ६ बजे मात्र बसेको आजको बैठक सुरु हन साथ प्रमुख प्रतिपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक भोली सोमवार दिउसो २ः०० बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो ।

बैठकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर विरोध गर्नुभएको थियो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत जेठ १२ गतेदेखि बैठक अवरुद्ध हुँदै आएको छ ।

यसअघि, आजै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला  र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको थियो । 

यसैगरी, नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रका उपमहासचिवहरू वर्षमान पुन र  शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डेबीच छलफल भएको थियो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षी दलका नेताहरूले पनि संसद्को जारी गतिरोधका विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button