तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयले चर्को शुल्क लिएपछि चिन्तामा

उदयपुर । राज्यमा बालबालिका लागि निःशुल्क र अनिवार्य शिक्षा मौलिक हकका रूपमा नेपालको संविधानमा उल्लेख गरेको छ । 

देशका सबै बालबालिकाले कक्षा ८ सम्म निःशुल्क र अनिवार्य तथा कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षा पाउने व्यवस्था शिक्षा ऐनले गरेको छ । 

अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार निःशुल्क शिक्षा भन्नाले विद्यार्थी वा अभिभावकबाट सामुदायिक विद्यालयले कुनै पनि शीर्षकमा कुनै शुल्क नलिई विद्यालय वा शैक्षिक संस्थाले प्रदान गर्ने शिक्षाको व्यवस्था गरेको छ । तर उदयपुरको एक विद्यालयले भने नयाँ विद्यार्थी भर्नामा चर्को शुल्क लिने गरेको अभिभावकहरूले बताएका छन् ।

जिल्लाको चौदण्डीगढी नगरपालिका–९ हडियामा रहेको जनता माध्यमिक विद्यालयले कक्षा २ देखी ९ सम्म नयाँ भर्ना हुन आउने विद्यार्थीसँग अक्षयकोष निर्माण गर्न भन्दै १५ हजार रुपैयाँ लिने गरेको पाइएको छ  । 

२०७४ सालदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन हुँदै आएको यस विद्यालयमा १ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयले नियमित अध्ययन गरिरहेका विद्यार्थी बाहेक कक्षा २ देखि ९ सम्म नयाँ भर्ना हुन आउने विद्यार्थीसँग अभिभावक सहयोग कार्यक्रम अन्तर्गत अक्षयकोष निर्माणका लागि प्रति विद्यार्थी १५ हजार लिने गरेको विद्यालय प्रशासनले जनाएको छ ।

अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ ले भने स्पष्ट रूपमा सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक बापतको रकम लिन नपाउने उल्लेख गरेको छ । तर जनता माध्यमिक विद्यालय हडियाले मात्र हैन उदयपुरमा धेरै जसो सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकहरूसँग रकम असुल्दै आएका छन् । 

राज्यले ऐन नै बनाएर अनिवार्य र निःशुल्क शिक्षा लागु गरेको भए पनि स्थानीय स्तरमा विद्यालय सञ्चालनमा हुने कठिनाइ र पछिल्लो समय सामुदायिक विद्यालयले समेत अङ्ग्रेजी बाट पढाउन सुरु गरेकै बहानामा ऐनको धज्जी उडाउँदै अभिभावकसँग विभिन्न शीर्षक र बहानामा शुल्क उठाउने गरेका छन् । यद्यपि राज्यले विद्यालयलाई भने परीक्षा लगायतका शीर्षकमा छुट्टै पैसा पठाउने नगरेकोले पनि विभिन्न शीर्षकमा पैसा लिनुपर्ने बाध्यता रहेको प्रध्यानाध्यापकहरु बताउनुहुन्छ ।

एक अभिभावकले भन्नुभयो, “आफूले सरकारी स्कुलमा निःशुल्क पढाई हुन्छ भन्ने सुनेको तर हडिया स्कुलमा छोराछोरी भर्ना गर्न १५ हजार तिर्नुपर्ने भएपछि आफ्नो क्षमताले नभ्याउने ठम्याउँदै विद्यार्थी कहाँ लगेर पढाउने अप्ठ्यारो परेको छ ।” 

अर्का अभिभावकले “नखाऊँ भने दिनभरी शिकार, खाउँ भने कान्छा बाउको अनुहार” भने जस्तै आफूले आफ्नो नानीलाई ऋण गरेर विद्यालयमा भर्ना गरेको बताउनुभयो । उहाँहरूले राज्यको निःशुल्क शिक्षा व्यवहारमा लागु नभएको समेत बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका प्रमुख भवानी कट्टेलले अक्षयकोष भनेर विद्यालयले पैसा उठाउनु गलत भएको बताउनुभयो । उहाँले जिल्लाका धेरै सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकसँग केही पैसा लिने गरेको भने स्विकार्नुभयो ।

चौदण्डीगढी नगरपालिका नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरले भने अभिभावक भेला गरेर सबै अभिभावकलाई खुशी बनाएर पैसा लिएको भए गलत नहुने बताउनुभयो । यद्यपि आफूहरूले त्यहाँको वास्तविकता बुझ्न नपाएको भन्दै यस विषयको सत्य के हो ?बुझेर आवश्यक कदम चाल्ने बताउनुभयो ।

जनता माध्यमिक विद्यालय हडिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्देव चौधरीले विद्यालयको यो कदमप्रति आफ्नो समर्थन नरहेको बताउनुभयो । अध्यक्ष चौधरीले अक्षयकोषको नाममा गरिब अभिभावकलाई दुख दिन नहुने आफ्नो स्पष्ट धारण रहँदारहँदै पनि बाध्यकारी अवस्थामा यो निर्णय गर्नुपरेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतले आफूले कुनै गलत मनसाय वा कुनै अन्य प्रयोजनका लागि अभिभावकसँग पैसा नलिएको बताउनुभयो । राउतले सबै अभिभावकलाई खुशी बनाएर पैसा लिएको दाबी गर्नुभयो । 

उहाँले आफ्नो विद्यालय नमुना विद्यालय कार्यक्रममा छनोट भएको र गत वर्षसम्म अनुदान समेत आएको बताउँदै अनुदान आउँदासम्म शिक्षकहरूलाई तलव सुविधा उपलब्ध गराउन सहज भएको तर अहिले नमुना कार्यक्रममार्फत अनुदान आउन बन्द भएकोले शिक्षकलाई तलव सुविधा उपलब्ध गराउन कठिन भएकोले अभिभावक सहयोगमार्फत विद्यालय सञ्चालन गर्न एउटा अक्षयकोष निर्माण गर्ने हेतुले नयाँ विद्यार्थी भर्नामा केही शुल्क लिएको बताउनुभयो ।

प्रधानाध्यापक राउतले नमुना विद्यालय कार्यक्रम अन्तर्गत एउटा कक्षामा ३५ जनाभन्दा धेरै विद्यार्थी समेत राख्न नपाउने व्यवस्था र नगरपालिकाले समेत केही विद्यालय मर्ज गरेको उक्त विद्यालयको समेत विद्यार्थी आफ्नोमा विद्यालयमा आएकोले आफूहरूलाई नीजि श्रोतका शिक्षकलाई तलव सेवा उपलब्ध गराउन कठिनाइ हुने हुँदा पनि अक्षयकोष निर्माणका लागि नयाँ भर्ना हुने आउने विद्यार्थीसँग पैसा लिएको जिकिर गर्नुभयो । 

प्रधानाध्यापक राउतले नगरपालिकाले विद्यालय मर्ज गर्दा विद्यार्थी मात्र पठाएको त्यहाँका डेस्क बेन्च लगायतका भौतिक शैक्षिक सामाग्री नपठाएको भन्नुहुँदै यो सबै व्यवस्थापन लागि समेत विद्यालयलाई पैसाको आवश्यकता परेको हुँदा अक्षयकोष निर्माण गर्न लागिएको र सोही अक्षयकोषको लागि नयाँ भर्ना हुन आउने विद्यार्थीसँग १५ हजार लिने गरेको बताउनुभयो । प्रधानाध्यापक राउतले उक्त रकम दिए बापत अभिभावकको नाम शिलामा बनाएर विद्यालयमा राखिने र विद्यालयले सम्मानको कार्यक्रम गरेर सम्मान समेत गर्ने बताउनुभयो ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउतले भने आफ्नै वडामा भएको विद्यालयले गरेको यस किसिमको निर्णय आफूलाई जानकारी नै नभएको बताउनुभयो । 

जनता माध्यमिक विद्यालयमा १५ जना स्थायी शिक्षक, ४ जना करार, ६ जना नीजि र ४ जना नीजि श्रोतका कर्मचारी कार्यरत रहेका छन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button