चौतारा अस्पतालमा स्याटलाइट क्लिनिक सञ्चालन हुने
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित चौतारा अस्पतालमा स्याटलाइट क्लिनिक सञ्चालन हुने भएको छ ।
प्रादेशिक अस्पताल चौतारा र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाण्डौंबीच स्याटलाइट क्लिनिक सञ्चालन सम्बन्धी सहमति भएपछि चौतारा अस्पतालमा स्याटलाइट क्लिनिक सञ्चालन हुने भएको हो ।

दुवै संस्थाबिच स्याटलाइट क्लिनिकमार्फत विशेषज्ञ तथा आधारभूत सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भइसकेको र सो सेवा यही साउनको ९ गतेबाट सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।
समझदारी पत्रमा शुक्रराज अस्पतालले सेवा प्रदान गर्ने जनशक्तिलाई प्रचलित कानुन र स्वीकृत मापदण्डको अधीनमा रही यातायात र खाजा खर्चको व्यवस्थापन गर्नुपर्ने र चौतारा अस्पतालले स्वास्थ्य संस्थासँग समन्वय गरी व्यवस्थितरुपमा क्लिनिक सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
समझदारी पत्रमा शुक्रराज अस्पतालकातर्फबाट निर्देशक डा. युवनिधि बसौला र चौतारा अस्पतालकोतर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।
हरेक महिनाको दोस्रो हप्ता र चौथौँ हप्ताको आइतबार गरी दुईदिन सञ्चालन हुने सो क्लिनिकमा बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोग लगायत अन्य विशेषज्ञ सेवा प्रवाह हुने चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्