बाम्का बजार आगलागी: ४० लाख राहत उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय
बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका- ६ बाम्का बजारमा गत शुक्रवार होटलमा खाना पकाउन राखिएको सिलिन्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा भएको क्षतिलाई मध्यनजर गरि सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले पीडितलाई तत्काल ४० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बुढिगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार मुख्यमन्त्री कमल बहादुर शाहको प्रस्तावमा मन्त्रीपरिषद् बैठक बाट पीडितका लागि ४० लाख रकम उपलब्ध गराउने निर्णय भएको हो ।
आगलागीले ३१ पसल पूर्ण रूपमा क्षति भएको थियो भने सात पसलमा आंशिक क्षति भएको थियो । आगलागीबाट बजारनै ध्वस्त हुँदा करिब १५ करोडभन्दा बढी क्षति भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। आगलागी बाट पिडित बनेकाहरूलाई राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको उपप्रमुख माया कुवरले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारसँगै विभिन्न क्षेत्र बाट राहत उपलब्ध गराउने कार्य तीव्र बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्