तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा स्तनपानको अवस्था कमजोर, प्रतिस्थापन सामग्रीको बिक्री रोक्न निर्देशन

बाँके ।बाँकेमा आमाहरूले नवजात शिशुलाई एक घण्टाभित्र स्तनपान गराउने दर राष्ट्रिय औसतभन्दा कम रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा जन्मेको पहिलो घण्टामा मात्र ३५ प्रतिशतले शिशुलाई दूध खुवाउने गरेका छन्।

स्तनपान प्रवर्द्धनका लागि आयोजित तीनदिने अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्यायले बजारमा आमाको दूध प्रतिस्थापन गर्ने आहार तथा खाद्य वस्तुको बिक्री–वितरण रोक्न निर्देशन दिनुभएको हो। उहाँका अनुसार यस्ता वस्तुहरू औषधि पसल, फार्मेसी र सामाजिक सञ्जालमार्फत प्रवर्द्धन भइरहेका छन्, जसले आमाहरूलाई भ्रमित पारिरहेको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार, जन्मेको ६ महिनासम्म मात्र दूध चुसाउने आमाको दर ६२ प्रतिशतबाट घटेर ५६ प्रतिशतमा झरेको छ। दुई वर्षसम्म स्तनपान गराउने दर भने ८९ प्रतिशत रहेको जानकारी दिनु भएको थियो ।

औषधि व्यवस्था विभागका निरीक्षक छबि महतराका अनुसार कार्यरत महिलाको संख्या बढ्दै जाँदा, कार्यस्थलमा स्तनपान कक्षको अभाव तथा सजिलो विकल्पको रूपमा बट्टाको दूधको प्रयोगले स्तनपान दरमा गिरावट आएको छ।

कार्यक्रममा ९० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए। कार्यक्रमको समापन जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button