तपाईँ सुन्दै हुनुहुन्छः

‘बजेटले मुलुकको आर्थिक स्थायित्वमा जोड दिएको छ’

राष्ट्रियसभामा बजेट माथिको सामान्य छलफलमा सांसदहरुले बोल्ने क्रम सकियाे

काठमाडौँ  । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको सामान्य छलफलमा सांसदहरुले बोल्ने क्रम सकिएको छ । 

आजको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटले मुलुकको आर्थिक स्थायित्वमा जोड दिएको, रणनीतिक महत्वका पूर्वाधार निर्माणका आयोजनाहरूले प्राथमिकता पाएको र निजी क्षेत्रका लगानीकर्तालाई उत्साहित बनाएको बताउनुभयो । 

बैठकमा सांसदहरुले बजेटमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, तथा युवा उद्यमशीलता र स्वरोजगारका कार्यक्रमहरूले प्राथमिकता पाउनु सकारात्मक रहेको उल्लेख गर्नुहुँदै कार्यान्वयन पक्षमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरूले बजेटले अहिलेको अर्थतन्त्रको दिशानिर्देश गर्न नसकेको, विपन्न वर्गका नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने लोककल्याणकारी कार्यक्रमहरूमा ध्यान दिन नसकेको र निजीकरणलाई आवश्यकताभन्दा बढी जोड दिएका कारण सुधार गरेर अगाडि बढाउन माग गर्नुभयो । 

यसअघि आजको बैठकको सुरुमा सांसदहरुले बजारमा बिक्री वितरण भइरहेका तरकारी तथा फलफूलमा विषादीको परीक्षण गरी स्वच्छ र सुरक्षित फलफूल प्रयोग गर्न पाउने नागरिकको हक रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले मानसिक समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको हुनाले मानसिक अस्पतालहरूको स्थापना र सञ्चालनमा जोड दिन र देशभर डेंगी सङ्क्रमणको प्रकोप बढ्दै गएको हुनाले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले तालिमका क्रममा कोशीमा हराइरहेका सशस्त्र प्रहरीका गोताखोरहरूको खोज कार्यलाई तीव्रता दिन, तथा रोपाइँको सिजन सुरु हुनु अगाडि नै किसानलाई पर्याप्त रासायनिक मल र बीउ उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते सोमबार दिनको सवा १ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button