तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

काठमाडौँ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु तीन अर्ब ४२ करोड विनियोजन गरेको बताउनुभयो । 

मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उहाँले बागमतीसहित उपत्यकाका विष्णुमती, धोवीखोलालगायत सबै नदीलाई ढलमुक्त बनाउने गरी काम भइरहेको उहाँको भनाई थियो ।

“नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । तर, वृक्षारोपण गरेपछि रूख जोगाउने काम अरूले गरिहाल्छन् नि भनेर हुँदैन । रूख जोगाउन र नदीमा जथाभाबी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा रु ४० करोडभन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा सहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको उल्लेख गर्दै नगरप्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपत्यकाका महत्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button