जातीय भेदभाव अन्त्य गर्न सोच परिवर्तन र शिक्षा अपरिहार्य : सरोकारवाला
बाँके।जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न सोचमा परिवर्तन र उचित शिक्षा आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिकाको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका प्रवक्ता मिनराज खड्का ‘सन्तोष’ले राप्ती सोनारी क्षेत्रमा दलित र गैरदलितबीच ठूलो दूरी नरहेको बताउनु भयो। उहाँले कतिपय अवस्थामा दलित समुदायभित्रै पनि भेदभाव देखिने गरेको उल्लेख गर्दै त्यसको अन्त्य आवश्यक रहेको धारणा राखे।
उहाँले गाउँपालिकाले दलित समुदायका लागि लक्षित बजेट विनियोजन गर्दै आएको जानकारी दिँदै अब दलित समुदाय आफैँले प्रभावकारी कार्यक्रम ल्याउनतर्फ ध्यान दिनुपर्ने बताउनु भयो।
कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संयुक्त दलित संघर्ष समिति बाँकेका संयोजक कृष्ण विक रसाइली, नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्णबहादुर विक, गाउँपालिकाका कार्यपालिका सदस्य थानबहादुर विक, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम थारु, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य कुसल दलामी, प्रेस सेन्टर नेपाल कोहलपुरकी उपाध्यक्ष प्रमिला विश्वकर्मालगायतले धारणा राखेका थिए।
प्रतिक्रिया राख्नुहोस्