तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताउनुभएको छ । 

टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति र समृद्धि शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थासँग सहकार्य र समन्वय गर्नु आवश्यक रहेको बताउनुभयो । 

उहाँले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा तीव्र रूपमा बिदेसिन बाध्य युवा शक्तिमार्फत नेपालको श्रम, सीपसँगै पुँजी पनि पलायन भइरहेकाले यो अवस्थालाई बदल्न स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न महानगरले काम गरिरहेको बताउनुभयो । 

काठमाडौँ–५ तथा टङ्गाल मावि व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र प्रजापतिले सबै पक्षको सहयोगले विद्यालयले शैक्षिक अवस्था सुधार गर्दै अभिभावकको मन जित्न सफल भएको बताउनुभएको । 

उक्त अवसरमा विद्यार्थीले देशभक्ति भाव रहेका गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी विद्यालयले शिक्षक र विद्यार्थीसँगै विद्यालयमा आर्थिक सहायता गर्ने समाजसेवीलाई सम्मान गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button