तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता ऐन कार्यान्वयनका लागि पहल गर्ने

काठमाडौँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ कार्यान्वयनका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

दलित अपाङ्गता भएका व्यक्तिहरूको सङ्घ, नेपाल (डिडान) ले आज यहाँ आयोजना गरेको ‘तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलन–२०२५, त्यसका सिकाइ र आगामी बाटो’ विषयक सरोकारवाला निकायसँगको सिकाइ आदान–प्रदान कार्यक्रममा उहाँले संविधान बमोजिम अब बन्ने ऐन÷कानुन र नीतिहरू अपाङ्गतामैत्री बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सभापति सुवेदीले भन्नुभयो, “नेपालमा हालसम्म सातवटा संविधान बनेका छन्, तर वर्तमान संविधानले महिला, जनजाति, मधेशी र अपाङ्गता भएका व्यक्तिलगायत सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गरेको छ । संवैधानिक अधिकार कार्यान्वयनका निम्ति सबैभन्दा बढी सम्बन्धित समुदाय नै सक्रिय हुनुपर्छ ।” अपाङ्गता भएका समुदायभित्र पनि महिला र दलितलाई राज्यले विशेष व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । 

संविधानसभाका सदस्य विनोद पहाडीले अपाङ्गताको सवालमा सबै स्थानीय तहले विशेष व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । डिडानका अध्यक्ष पम्फा पुर्कोटीले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, संवैधानिक निकायलगायत राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताका निम्ति संवैधानिक व्यवस्थाको माग गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको सहभागिताको सवालमा अपाङ्गतासम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।  

डिडानका वरिष्ठ संस्थापक तथा अपाङ्गता समावेशी विकासविज्ञ कृष्ण गहतराजले अपाङ्गता समावेशिताका लागि राज्यले नीति बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button