तपाईँ सुन्दै हुनुहुन्छः

नेटवर्क समस्या र सेवा ढिलाइले बाजुरामा परिचयपत्र लिनेको घुइँचो

बाजुरा । सरकारले नेपाली नागरिकताको विकल्पका रूपमा अघि सारेको राष्ट्रिय परिचयपत्र बनाउनेको जिल्ला प्रशासन कार्यालय बाजुरामा घुइँचो लागेको छ। 

प्रशासन कार्यालय बाजुराको नेटवर्कमा केही दिनदेखि समस्या आएकाले निरन्तर काम नहुँदा करिब ४ दिनदेखि नागरिकहरू परिचय पत्र बनाउने शाखाको लाइनमा लाग्न बाध्य भएका स्थानीयको गुनासो छ।पछिल्लो समय विभिन्न सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि बनाउनेको सङ्ख्यामा वृद्धि भएको र नेटवर्क समस्याका कारण काम निरन्तर नहुँदा घुइँचो बढ्दै गएको राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर जेविस एैडिले बताउनुभयो । 

राष्ट्रिय परिचयपत्र बनाउनकै लागि ३ दिन देखि मार्तडीमै बसेर समयमै लाइनमा लागे पनि हाल सम्म काम हुन नसकेको बडिमालिका नगरपालिका वडा नम्बर ५का स्थानीय प्रेम विकले गुनासो गर्नुभयो । सेवाग्राहीको समस्यालाई मध्यनजर गरि छिटो र प्रभावकारी सेवा दिन प्रशासन प्रतिबद्ध भए पनि देशैभर नेटवर्क समस्या आएकाले परिचयपत्र बनाउने कार्यमा केही ढिलाइ हुन गएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

जिल्लामा २०७७ साल असोज ११ गते देखि राष्ट्रिय परिचय पत्रका लागि आवेदन कार्य सुरु भएकोमा हालसम्म निरन्तर चलिरहेको छ। मतदाता सङ्ख्याको आधारमा जिल्लामा ७४ प्रतिशत नागरिकहरूको राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन भइसकेको छ ।

राष्ट्रिय परिचय पत्र वितरण कार्यको सुरुवात भएको एक बर्ष नाघिसक्दा समेत बनाउने स्थानीयको प्रशासन कार्यालय बाजुरामा घुइँचो नघट्नुमा आँखा, कान र हस्ताक्षर सहित बायोमेट्रिक लिएर सम्बन्धित व्यक्तिले परिचय पत्र पाउने व्यवस्था भएकाले समय लाग्ने गरेको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button