तपाईँ सुन्दै हुनुहुन्छः

पाठ्यक्रममा आधारित जीवन उपयोगी सीप र जलवायु न्यायसम्बन्धी तालिम खजुरामा सुरु

बाँके।खजुरा गाउँपालिकाका १६ माध्यमिक विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकका लागि पाठ्यक्रममा आधारित जीवन उपयोगी सीप र जलवायु न्यायसम्बन्धी तीन दिने तालिम सुरु भएको छ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा, खजुरा गाउँपालिकाको सहकार्य र बास नेपालको आयोजना रहेको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले गरेका हुन्। उनले बालिका शिक्षा कार्यक्रममार्फत आएको सकारात्मक परिणामका कारण कार्यक्रमलाई निरन्तरता दिने योजना अघि बढाइएको बताए।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले बालिका शिक्षाले शैक्षिक गुणस्तरमा सुधार ल्याएको बताइन्। सामाजिक विकास समिति संयोजक कृष्णा पोखरेलले विद्यालय अनुगमनको क्रममा देखिएको परिवर्तन नै कार्यक्रमको उपलब्धि भएको बताए।

शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले सबै विद्यालयमा कार्यक्रम विस्तार गर्नु चुनौतीसँगै अवसर भएको भन्दै विद्यालयहरू सफल हुने विश्वास व्यक्त गरे।

बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कार्यक्रम संयोजक हेमराज भट्टले सहजीकरण गरेका थिए। कार्यक्रममा स्वागत कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए।

तालिममा सहभागीहरूले जीवन उपयोगी सीपका १० तत्व, जलवायु न्यायको पाठ्यक्रमको सान्दर्भिकता, निर्देशिकामा आधारित विशेष क्रियाकलापहरू, र लैङ्गिकता तथा जलवायु न्यायसम्बन्धी ज्ञान हासिल गर्ने उद्देश्य राखिएको छ।

तालिममा रुम टु रिडका जय प्रजापति, दिनेश पोखरेल, निरोज कोइराला, तथा बास नेपालका हेमराज भट्ट, शोभा भण्डारी, सविता सुनार र जमुना चौधरीले सहजीकरण गर्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button