कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यादवको दुर्घटनामा परि निधन
रुपन्देही । रुपन्देही कोटहीमाई गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत) राम निवास यादवको निधन भएको छ । बुधबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका यादवको सोमबार (आज) उपचारको क्रममा भारतको लखनउमा निधन भएको हो ।

बुधबार कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पछाडिको सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा यादव घाइते हुनुभएको थियो ।
दुर्घटनापछि उहाँलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि यादवलाई थप उपचारका लागि शनिबार भारतको लखनउ लगिएको थियो । उपचारको क्रममा आज दिउँसो २ बजे उहाँको निधन भएको कोटहीमाई गाउँपालिकाले जानकारी दिएको छ ।
यादवको निधनप्रति शोक दुःख गर्दै गाउँपालिकाले जेठ २० गते मङ्गलवार (भोलि) शोक बिदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरूमा अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने गरी शोक बिदा दिइएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्