तपाईँ सुन्दै हुनुहुन्छः

दुई जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

सोलुखुम्बु । विगत लामो समयदेखि विवाद रहेको सोलुखुम्बु र ओखलढुङ्गाको बुलबुले क्षेत्रको सीमा विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । दुई जिल्लाको सुरक्षा समितिका पदाधिकारीको सल्लेरीमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले संयुक्त निर्णय गरेको हो ।

सोलुखुम्बु र ओखलढुङ्गाको सिमानामा पर्ने तोलु गुम्बा, बुलबुले, लोमुजे बौद्ध हुँदै छुटाँगाका क्षेत्रहरूमा विगत २०४३ सालदेखि नै सीमा विवाद रहेकोमा कुन जिल्लाको हो भनी यकिन गर्नका लागि समिति गठन गरिएको हो । उक्त क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका कहाँ पर्ने भन्ने विषय विवादित रहँदै आएको छ ।

बैठकले दुवै जिल्लाको मालपोत र नापी कार्यालयका कागजात अध्ययन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । समितिमा ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौडेल) संयोजक, सोलुखुम्बु र ओखलढुङ्गाका मालपोत र नापी कार्यालयका प्रमुख सदस्य र जिल्ला प्रशासन सोलुखुम्बुका नायब सुब्बा सुमन कार्की सदस्य सचिव रहनुभएको छ । 

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी आफ्नो नेतृत्वमा जिल्लाको सुरक्षा समितिको टिम लिएर बैठकका लागि सोलुखुम्बु सदरमुकाम सल्लेरी आउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button