तपाईँ सुन्दै हुनुहुन्छः

यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

रुपन्देही । काठमाडौँमा हुने १४ वर्षमुनिका यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । रुपन्देहीको बुटवलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट विभिन्न विधाका ७८ जना खेलाडी तथा प्रशिक्षकहरू छानिएका हुन् । 

लुम्बिनी प्रदेशभरिका ४ सय ५० विभिन्न विधाका विद्यार्थी खेलाडीहरूले गरेको प्रतिस्पर्धाका आधारमा विद्यार्थी खेलाडी छनोट भएका हुन् । यही जेठ २२ देखि २६ गतेसम्म काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी हुन जाने ७८ खेलाडीहरूको दुई दिनको विभिन्न खेलकुद विधाबाट छनौट भएको नेपाल विद्यालय खेलकुद महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा १४ वर्षमुनिका ४५० जना विद्यार्थीहरूले ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल, एथलेटिक्स, रग्बी र क्रिकेट प्रतियोगिता भएका हुन्  । ती प्रतियोगिताबाट छनौट भएका ७८ खेलाडी काठमाडौँमा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न जानेछन् । 

प्रतियोगिता अन्तरगत क्रिकेटका लागि यु–१६ खेलाडीका लागि प्रतियोगिता हुनेछ । क्रिकेटका लागि यु–१६ का खेलाडीहरूलाई छनोट गरिएको र सोही अनुसार प्रतिस्पर्धा पनि हुने अध्यक्ष पौडेलले बताउनुभयो ।

नेपाल विद्यालय खेलकुद महासङ्घ लुम्बिनीका उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङ जम्पबाट ११ खेलाडी छनोट भएका छन् । त्यस्तै छात्र डबल, छात्रा सिङ्गल टेबल टेनिसबाट ७ जना, छात्रछात्रा बास्केट बलबाट ९ जना, रग्बी छात्रछात्राबाट २६ जना, ब्याडमिन्टन छात्रछात्रा सिङ्गल डबलबाट ७ जना, क्रिकेट छात्रबाट १६ जना र टोली नेता र उपनेता एक/एक जना गरी ७८ जना छनौटमा परेका हुन् । 

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै जेठ २२ देखि २६ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १४ वर्षमुनिको यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका विभिन्न विधामा उनीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल विद्यालय खेलकुद महासङ्घ लुम्बिनीको संयोजनमा बुटवलमा सम्पन्न छनौट प्रतियोगितामा प्याब्सन नेपाल, एन–प्याब्सन र नेपाल शिक्षक महासङ्घले सहकार्य गरेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button