कोशी राजमार्ग सञ्चालनमा
धनकुटा । अविरल वर्षाका कारण शनिबार बिहानदेखि अवरुद्ध कोशी राजमार्गको भेडेटार मुलघाट सडकखण्ड सञ्चालनमा आएको छ।

साँगुरीगढी गाउँपालिका–६ फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब सय मिटर सडक कटान गरेपछि सडक अवरुद्ध बनेको थियो। अवरुद्ध सडक खुलाउन बिहानैदेखि प्रयास गरिएको र बेलुकाबाट सञ्चालनमा आएको हो। पानी पुन नपरेको र बाढी घट्दै गएपछि खोलामा डाइभर्सन निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिनुभयो।
सडक भत्किएपछि तराईबाट कोशी राजमार्ग हुँदै धनकुटासहित भोजपुर सङ्खुवासभा र तेह्रथुम तथा कोशी राजमार्गबाट तमोर करिडोर हुँदै पाँचथर र ताप्लेजुङसँग तराईको आवतजावत दिनभर ठप्प भएको थियो।
प्रतिक्रिया राख्नुहोस्