खेलकुदको बजेट दोब्बर गर्नु सकारात्मक : कांग्रेस नेता सिटौला
दोलखा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरूको बीचमा जनताको लागि प्रतिस्पर्धा हुने गरेको बताउनुभएको छ । उहाँले राजनीतिक दल र नेताहरू जनताप्रति उत्तरदायी र जबाफदेही हुने भएकोले प्रतिस्पर्धा पनि जनताकै लागि हुने गरेको बताउनुभयो ।

दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु भएको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नेता सिटौलाले दलका नेताहरू, जनप्रतिनिधिहरूले जनताप्रति समर्पित भएर जति काम गर्न सक्यो त्यति नै जनता अघि बढ्न सक्ने बताउनुभयो ।
नेपालले खेलकुद जगतमा राष्ट्रिय– अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्दै गएको उल्लेख गर्नुहुँदै सङ्घीय सरकारले पनि खेलकुदको बजेटलाई डबल गर्नु सकारात्मक रहेको बताउनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने उल्ले गर्नुहुँदै आर्थिक बर्ष ०८२/०८३ मा खेलकुदको बजेटलाई डबल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता जीपछिरीङ लामा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी ६ वटा विधामा खेलहरू हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिनुभयो । प्रतियोगितामा बागमती प्रदेश भित्रका १३ जिल्लाको एक सय १३ जना खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्