सिधनिया घाटमा निर्माणधीन पुलको लम्बाइ बढाउन माग
बाँके । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउन माग गरिएको छ। नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत निर्माणाधीन ७०० मिटर लामो पुल पर्याप्त नहुने भन्दै त्यसलाई ११४० मिटर पुर्याउन राप्ती सोनारी र नरैनापुरका जनप्रतिनिधि तथा स्थानीयले सडक विभागको उच्चस्तरीय टोलीसँग आग्रह गरेका हुन्।
हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीको नेतृत्वमा पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर र सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालसहितको टोलीले निर्माणस्थलको अनुगमन गर्नुभएको थियो।
हाल निर्माणाधीन पुल ७०० मिटर लामो र ११ मिटर चौडा रहने तथा दुवैतर्फ १.७५ मिटर फुटपाथ निर्माण गरिने निर्माण कम्पनी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीका प्रबन्धक धिरेन्द्र दाहालले जानकारी दिनुभयो। भ्याटसहित १ अर्ब २० करोड रुपैयाँमा निर्माण भइरहेको यो पुलको काम तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो।
अनुगमनका क्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद, राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा थारु, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य चिम बहादुर घर्तीलगायतले पुलको लम्बाइ नबढाए वर्षायाममा राप्ती सोनारी र नरैनापुरमा ठूलो डुबान भई क्षति पुग्न सक्ने भन्दै सचेत गराएका थिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जनप्रतिनिधि र स्थानीयको माग जायज रहेको भन्दै यस विषयमा माथिल्लो निकायलाई जानकारी गराउने बताउनुभयो।
राप्ती नदीमा हरेक वर्ष आउने बाढीले सडक तथा कल्भर्टमा क्षति पुर्याएपछि लुम्बिनी प्रदेश सभा सदस्य नमुनाको पहलमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईले ७०० मिटर लामो पुल बनाउने योजनासहित बजेट सुनिश्चितता गर्नुभएको थियो।
लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले ५३ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७९ माघमा सम्झौता गरेको थियो। इन्जिनियर राजेश पटेलका अनुसार पुलको निर्माण २०८४ असार मसान्तमा सकिने लक्ष्य छ।
प्रतिक्रिया राख्नुहोस्