तपाईँ सुन्दै हुनुहुन्छः

कार्यान्वयन फितलो हुँदा धुम्रपान र सुर्तीजन्य पदार्थको जोखिम बढ्दै

बाँके। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणमा सञ्चारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेले सरोकारवाला तथा सञ्चारकर्मीहरूका लागि आयोजना गरेको जोखिम सञ्चार तथा सहभागिता कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले आम नागरिकलाई स्वस्थ बनाउन र सुर्तीजन्य पदार्थको बेफाइदाबारे पर्याप्त सचेतना पुर्याउन सकेमा मात्रै यसको नियन्त्रण सम्भव हुने बताउनुभयो।

नेपालमा पर्याप्त कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा धुम्रपान र सुर्तीजन्य पदार्थ चुनौतीका रूपमा रहेको सचिव श्रेष्ठको भनाइ थियो। उहाँले पछिल्लो समय लुम्बिनी प्रदेशमा नसर्ने रोगको संक्रमण वार्षिक दोब्बर दरले वृद्धि भइरहेको र त्यसको मुख्य कारण धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग देखिएकाले यसका विरुद्ध साझा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। आम नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय भएकाले सबैको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने भन्दै उहाँले सबैलाई हातेमालो गर्न अनुरोध गर्नुभयो।

यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय नेपालगन्जका निमित्त प्रमुख नरेश बाबु श्रेष्ठले संघीयता पछि धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग बढेको पाइएकोले सबैले जिम्मेवार भएर सोच्ने बेला आएको बताउनुभयो। जिल्लास्थित नियमनकारी निकायको चासो र गम्भीर विषयमा जिम्मेवारीबोध नहुँदा समस्या बढ्दै गएको उहाँको भनाइ थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button