लुम्बिनीमा होटल पर्यटनको प्रचुर सम्भावना छ : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा होटल पर्यटनको सम्भावना प्रबल भएकाले निजी क्षेत्रको तर्फबाट पनि यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

सिद्धार्थ होटल संघ नेपालको १९औँ स्थापना दिवस तथा सत्कार दिवसको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढाउन जोड दिनुभएको हो । उहाँले होटल क्षेत्रको लगानीलाई पर्यटन व्यवसायसँग जोडेर हेर्न पनि आह्वान गर्नुभयो ।
पर्यटकहरू बास बस्न नपाएर चाँडै फर्किनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले यसतर्फ व्यवसायमा संलग्न सबैले सोच्नुपर्ने स्पष्ट पार्नुभयो । ‘कतै होटलमा लगानी उठ्न नसक्ने अवस्था छ भने कतै होटल नै नभएर पर्यटकले सास्ती भोग्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यस्तो असन्तुलन हटाउन पनि आवश्यक छ ।’
सरकारले पर्यटन क्षेत्रको विकास, लगानी र व्यवसाय प्रवर्द्धनका लागि अनुकूल नीति ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित भएर अघि बढ्न आह्वान गर्नुभयो । सरकारले सकारात्मक कामको लागि सहजीकरण र आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उहाँले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिनुभयो ।
कार्यक्रममा सिद्धार्थ होटेल एसोसिएसन सानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सिपी), लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डे, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्