तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वमै उत्कृष्ट शासन प्रणालीको रुपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ ।

आज विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगीहरूलाई पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले २१आँै शताब्दीको साइन्स टेक्नोलोजीको अहिलेको विकासको यो दुनियाँमा अनिर्वाचित तथा जन्मसिद्ध अधिकार सम्पन्न हुन खोज्ने शासन प्रणालीको कुनै दार्शनिक , सैद्धान्तिक तथा आर्थिक आधार नभएको र अहिलेको समाजको बनौट समेत त्यस्तो नभएको प्रष्ट पार्नुभयो ।

उहाँले संघीय लोकतान्त्रिक व्यवस्था मुलुकमा स्थापित भइसकेको अवस्था आफ्नो अबिष्ठ पुरा गर्न तथा कुनै एक व्यक्तिको शासन व्यवस्थाको पक्षमा जनतालाई भ्रम छर्ने काम कसैले गर्न नहुने बताउनुभयो । उहाँले नेपाली जनताले राणा शासन तथा पञ्चायती व्यवस्था व्यहोरी सकेकाले अब फेरी निरकुंश शासन ल्याउने चेष्टा कसैले नगरे हुन्छ भन्नुभयो । 

उहाँले जनमत नभएका तथा एउटा क्षेत्रमा निर्वाचन जित्नका लागि ठुला राजनीतिक दलको बुई चढ्ने पार्टीले केही नकारात्मक घटनालाई आधार बनाएर लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिने कुरा नसुहाउने  बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरूले व्यवस्था विरुद्ध गलत प्रचार गर्ने काम गरिरहेको भन्नुहुँदै यस्ता क्रियाकलापविरुद्ध सञ्चारकर्मीहरू सजग सचेत हुनुपर्ने बताउनुभयो । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले, आउँदो असार महिनामा प्रदेश आमसञ्चार विधेयक संसद्बाट पास भएसँगै आमसञ्चार प्रतिष्ठान स्थापना हुने र कोशी प्रदेशको पत्रकारिता क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खडका तथा पत्रकार महासङ्घ मोरङ अध्यक्ष सुशिला पाठकले पत्रकारिताको क्षेत्रको विकासमा जोड दिनुभयो ।

सो अवसरमा कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर कोशी प्रदेशका सात जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नगद रु १ लाख सहित कोशी प्रदेशमा कार्यक्षेत्र भएका अग्रज तथा क्रियाशील पत्रकारहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने, धनकुटाका राजेश्वर श्रेष्ठ, सुनसरीकी यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहनुभएको छ । उहाँहरूलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री  कार्कीले प्रमाणपत्र र नगदसहित सम्मान गर्नभयो । 

कोशी प्रदेश सरकारले हरेक वर्ष प्रदेशमा क्रियाशील अग्रज पत्रकारहरूलाई सम्मान गर्दै आएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर भव्य कार्यक्रम बीच पत्रकारहरूलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button