बैजनाथ गाउँपालिकाको कृषि क्षेत्रमा फरक पहिचान
बाँके। देशभर कृषि क्षेत्रमा लगानी भए पनि प्रतिफल नदेखिएको भन्दै आलोचना भइरहेका बेला बाँकेको बैजनाथ गाउँपालिकाले भने किसानको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी कृषि योजनाहरू अघि बढाएको छ।
गाउँपालिकाले कृषिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित ‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम सञ्चालन गरिरहेको छ। कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार पालिकाले किसानलाई घरदैलोमै पुगेर तालिम, परामर्श, बिउबिजन वितरण र अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।
पालिकाले वडाहरूलाई उत्पादनको आधारमा पकेट क्षेत्र घोषणा गर्दै उत्पादन बढाउने रणनीति अपनाएको छ। वडा नम्बर २ र ३ लाई मकै पकेट क्षेत्र तथा वडा ७ र ८ लाई तरकारी पकेट क्षेत्र बनाइएको छ।
त्यसैगरी, कृषकले उत्पादन गरेका वस्तुहरूको बजारीकरणका लागि हट बजार सञ्चालनमा ल्याइएको छ भने मोबाइल एप्समार्फत तरकारीको मूल्य जानकारी दिने व्यवस्था गरिएको छ।
कृषिमा अध्ययन गर्न चाहने युवालाई लक्षित गर्दै बैजनाथ गाउँपालिकामा कृषि प्राविधिक क्याम्पस स्थापना गर्ने तयारीसमेत भइरहेको छ। करिब ३०–४० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको क्याम्पस आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने योजना छ।
कृषिमा पालिकाको सक्रियताले स्थानीय किसानमा सकारात्मक सन्देश दिएको छ। कृषक जगनारायण थारू र गीता कुमारी पुनजस्ता किसानहरूले पालिकाको सहयोगले आफ्नो कृषि व्यवसायमा उल्लेखनीय सुधार आएको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्