तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा होमस्टे निर्माण हुँदै, प्रदेश सरकार र नगरबीच २ करोडको सम्झौता

नवलपरासी, पश्चिम । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा होमस्टे निर्माण हुने भएको छ। वडा नं. १४ मा रहेको हडहिया पोखरी क्षेत्रमा घरवास कार्यक्रम सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाबीच सम्झौता भएको हो।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य र नगर प्रमुख धनपत यादवको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

कुल २ करोड रुपैयाँ बराबरको लागतमा निर्माण हुने होमस्टे परियोजनामा नगरपालिकाले ९२ लाख रुपैयाँ लगानी गर्नेछ भने बाँकी १ करोड ८ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउनेछ।

नगरप्रमुख यादवका अनुसार होमस्टेले थारू समुदायको संस्कृति, परम्परा, भाषा र जीवनशैली संरक्षणमा टेवा पुर्‍याउनुका साथै स्थानीय रोजगारी सिर्जनामा सहयोग पुग्नेछ।

“भौतिक विकास मात्रै विकास होइन, संस्कृति र भाषाको संरक्षण गर्दै नयाँ पुस्तालाई जानकारी दिन पनि होमस्टेले मद्दत गर्छ,” यादवले बताउनुभयो।

मुख्यमन्त्री आचार्यले समयमै निर्माण सम्पन्न गरी रामग्राममा नमुना घरवास कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले प्रदेश सरकारले स्थानीय सरकारसँग साझेदारीमा अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै स्थानीय तहको सक्रियताले ठूला योजना कार्यान्वयनमा सहजता ल्याउने बताउनुभयो।

होमस्टे निर्माणको तयारीसँगै स्थानीयवासी उत्साहित छन्। पछिल्लो समय रामग्राम नगरपालिकाले पर्यटन प्रवर्द्धनमा जोड दिँदै नयाँ परियोजनाहरू अघि सारेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button