तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशमै केही  हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुभएको छ । 

काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्नुहुँदै उहाँले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भन्नुभयो । 

उहाँले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकै दिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाउनुभयो ।

“अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरू त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरूले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी ९जाइका० बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button