स्थानीय तहमा अस्पताल सेवा विस्तार भए पनि जनशक्ति अभाव: नेता कोइराला
विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सबै स्थानीय तहमा निर्माण भइरहेका आधारभूत अस्पतालहरूमा दक्ष चिकित्सकसहितको जनशक्ति राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ।

मोरङको वुढीगंगा गाउँपालिका–६ मा निर्माण सम्पन्न भएको वुढीगंगा पालिका अस्पतालको बुधबार उद्घाटन गर्दै डा. कोइरालाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। उहाँले कतिपय स्थानमा ठूला भवनसहितका अस्पताल स्थापना भए पनि दक्ष जनशक्ति नहुँदा सर्वसाधारणले सामान्य उपचारका लागि समेत सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो।

सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको उपचारमा सहजता ल्याएको भन्दै उहाँले गरिब तथा असहाय वर्गलाई बीमाको दायरामा ल्याउन बीमा शुल्क स्थानीय तहले व्यहोर्नुपर्ने सुझाव दिनुभयो। साथै, बीमा कार्यक्रममा सुरुमा लाग्ने खर्चको अनुमान सटीक नहुनुले आर्थिक चुनौती देखिएको भन्दै सुधारको आवश्यकता औँल्याउनुभयो।
डा. कोइरालाले वुढीगंगा गाउँपालिकाको समग्र विकासमा आफू प्रतिबद्ध रहेको भन्दै किसानहरूका लागि कोल्ड स्टोरेज तथा स्थानीय उद्यमशील महिलाहरूका लागि महिला उद्यम ग्राम निर्माणको तयारीमा रहेको जानकारी दिनुभयो।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की र प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले प्रदेशभरि रहेका स्वास्थ्य केन्द्र तथा अस्पतालमा सेवा विस्तार गरिएकाले नागरिकले सहज स्वास्थ्य सेवा पाइरहेको बताए।
नेपाल सरकारले निर्माण गरेको दश शय्याको उक्त वुढीगंगा पालिका अस्पताल २०७७ मंसीरमा शिलान्यास गरिएको थियो। सवा एक बिघा क्षेत्रफलमा फैलिएको अस्पतालको लागत करीब ८ करोड रुपैयाँ रहेको छ। अस्पतालमा मेजर तथा माइनर अपरेशन, ल्याब, एक्स(रे, ईसीजी, इन्डोर सेवा तथा २४ घन्टा इमर्जेन्सी सेवा उपलब्ध छन्, भनी वुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्