महिलाभित्र पनि विविधता खोजिनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौँ । संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिताभित्र समावेशीता र विविधता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

सातौँ महिला दिवसका अवसरमा राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको समारोहमा बोल्दै प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले महिलाको सहभागिता ५० प्रतिशत पुर्याउन सके मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने धारणा राख्नुभयो। उहाँले ऐन कानुनहरू उत्कृष्ट भए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै अब बाध्यकारी कानुन निर्माणको खाँचो रहेको बताउनुभयो।

समारोहमा राष्ट्रिय महिला आयोगका सदस्य विद्या सिन्हाले ३३ प्रतिशत सहभागिताभित्रै पनि विविध समुदायका महिलालाई समेट्नुपर्ने आवश्यकता औँल्याउनुभयो। त्यसैगरी सांसद रेखाकुमारी शाह, प्रतीक्षा तिवारीलगायतले महिलामाथि अझै विभिन्न प्रकारका हिंसा र विभेद भइरहेका भन्दै बनेका कानुनको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो।
वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्लो समय महिला आन्दोलनमा एकता कमजोर भएको भन्दै बनेका कानुन कार्यान्वयन नहुनुको कारणमाथि कडा आवाज उठाउन ढिला भइसकेको बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्