पुटिन आगोसँग खेलिरहनुभएको छ: ट्रम्प
वासिङ्टन। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको छ’ भन्दै कडा चेतावनी दिएका छन्। युक्रेनमा हालै भएका भीषण ड्रोन आक्रमणहरू र शान्ति वार्ताप्रति गहिरो असन्तुष्टि जनाउँदै ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत उक्त टिप्पणी गरेका हुन्।
ट्रम्पले लेखेका छन्, “भ्लादिमिर पुटिनलाई थाहा छैन, यदि यो मेरो कारणले नभएको भए, रुसमा धेरै साँच्चिकै नराम्रा घटना भइसकेका हुन्थे। उहाँ आगोसँग खेलिरहनुभएको छ।”
उनले पुटिनप्रति कडा शब्द प्रयोग गर्नु पहिला पटक होइन। दुई दिनअघि पनि उनले रुसी राष्ट्रपति ‘पूर्ण रूपमा पागल’ भइसकेको टिप्पणी गरेका थिए। ट्रम्पले युद्धविरामको असफल प्रयास र युक्रेनमाथिको निरन्तर रुसी आक्रमणप्रति निराशा व्यक्त गर्दै रूसमाथि थप कडा प्रतिबन्धको सम्भावना खुला राखेका छन्।
नयाँ प्रतिबन्धको तयारी
अमेरिकी सञ्चारमाध्यमहरू वाल स्ट्रिट जर्नल र सिएनएनका अनुसार ट्रम्प प्रशासनले यसै हप्ता रूसमाथि नयाँ प्रतिबन्ध लगाउनेबारे छलफल गरिरहेको छ। ट्रम्पका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भनेकी छन्, “राष्ट्रपति ट्रम्पले बुद्धिमत्तापूर्वक सबै विकल्पहरू खुला राख्नुभएको छ। उहाँ शान्तिपूर्ण समाधान चाहनुहुन्छ।”
राजनीतिक दबाब र आलोचना
अमेरिकाका सांसदहरूले पनि ट्रम्पलाई रूसविरुद्ध कठोर कदम चाल्न आग्रह गरेका छन्। वरिष्ठ रिपब्लिकन सिनेटर चक ग्रास्लीले पुटिनलाई ‘खेल समाप्त’ भएको सन्देश दिनुपर्ने बताए भने सिनेटर लिन्डसे ग्राहम र डेमोक्र्याट रिचर्ड ब्लुमेन्थलले रूसी तेल र कच्चा पदार्थ आयात गर्ने देशहरूमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
युद्धको पछिल्लो अवस्था
रूसले पछिल्लो सातामा २,३३१ युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबी गरेको छ। मस्कोविरुद्ध तीव्र बनेको ड्रोन हमलामा मङ्गलबार मात्रै १५० ड्रोन रोकिएको र तीमध्ये ३३ मस्कोमा प्रवेश गर्ने प्रयासमा थिए। युक्रेनी अधिकारीहरूले भने रूसले नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाएका छन्।
शान्ति वार्ताको प्रयास
रुस र युक्रेनबीच शान्ति वार्ताका प्रयासहरू जारी छन्। यद्यपि, कुनै ठोस प्रगति भएको छैन। ट्रम्पका युक्रेन सम्बन्धी सल्लाहकार किथ केलोगका अनुसार सम्भावित अर्को वार्ता जेनेभामा हुनसक्नेछ, किनभने मस्कोले भ्याटिकनलाई अस्वीकार गरिसकेको छ।
स्विस सरकारले वार्ताको आयोजना गर्ने औपचारिक प्रस्ताव भने अहिलेसम्म सार्वजनिक गरेको छैन। तर स्विस विदेश मन्त्रालयले ‘सबै पक्षहरूसँग सम्पर्कमा रहेको’ जनाएको छ।रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्