अत्याधुनिक आरन तालिमले बैजनाथमा स्वरोजगारको ढोका खोल्यो
बाँके। बैजनाथ गाउँपालिका–६ मा लक्षित वर्गका लागि सञ्चालित ३० दिने एड्भान्स आरन सुधार तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक सहयोगमा सोक्याड कोहलपुरले सञ्चालन गरेको तालिममा ८ जना स्थानीयले कच्चा फलामबाट हसिया, खुकुरी, खुडा, कुटो, चापरलगायतका घरेलु सामाग्री बनाउन सिकेका हुन्।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले घरेलु आरन सिपलाई आधुनिकीकरण गर्दै सामूहिक आरन उद्योग स्थापना गर्न स्थानीय सरकार तयार रहेको र उत्पादनको बजारीकरणमा समेत सहयोग गरिने बताए।
उपाध्यक्ष निर्मला रोकायाले तालिमले सिकेका सिपबाट सहभागीले उत्पादन तथा मर्मतको काम गरेर मनग्य आम्दानी गर्न सक्ने भन्दै यस्ता घरेलु औजारहरूको दैनिक जीवनमा महत्त्व सधैं रहने बताइन्।
कार्यक्रममा प्रशिक्षक उमालाल बिकले सहभागीलाई सिपको सही उपयोग गर्न आग्रह गर्दै प्रशंसा पत्र ग्रहण गरेका थिए। सहभागीहरूले तालिमबाट स्वरोजगारको सम्भावना बढेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्