तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको जैमुनीमा विपन्न लाई नयाँ घर

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले आठ घरविहीन परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ ।

जैमिनीले आर्थिक रुपमा विपन्न परिवारलाई ओत लाग्न नयाँ घर हस्तान्तरण गर्नुका साथै प्राकृतिक विपद्बाट प्रभावित १३ घरपरिवारलाई घर निर्माण गरेको हो । 

आर्थिक वर्ष २०८०÷८१ मा सम्झौता भएका घरविहीन जैमिनी–८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा ३ उपल्लो दमेकका गिरीबहादुर परियार, तुलबहादुर घर्ती, वडा ९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा १० राङखानीका हरिमाया थापा, वडा ४ सर्कुवाकी देउरुपा सार्की, जैमिनी वडा ८ छिस्तीकी नरवदी पुन घर्तीलाई नयाँ घर निर्माणका लागि दुई–दुई लाख रुपियाँ भुक्तानी गरिएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार, चालु आर्थिक वर्षमा परिमार्जित कार्यविधिअनुसार मूल्याङ्कन आधारमा आर्थिक अवस्था कमजोर भई घरविहीन बनेकालाई २ लाख, घरविहीनलाई ३ लाख र विपत् प्रभावित घरविहीनलाई २ लाख ५० हजार रुपियाँ भुक्तानी गरिनेछ । 

यस्तै, प्राकृतिक विपद्बाट प्रभावित १३ घरपरिवारलाई जिल्ला विपद् कोषसँग सहकार्य गरेर घर निर्माणमा नगरपालिकाले साथ दिएको हो ।

कुश्मीसेराका डिलकुमारी पुन, बिनामारेका मनु हमाल, बुद्धिकुमारी जैसी, दमेकका रुपा बहिक, विष्णुप्रसाद सापकोटा, पैयुथन्थापका शुक्रबीर सार्की, टिकाराम शर्मा, रुपा नेपाली, अर्जेवाका फर्सबहादुर कामी, प्रकाश विक, राङखानीका यामबहादुर दर्जी, जैदीकी तुलसी शाही र बिनामारेका विष्णु शर्माको घर पुनर्निर्माण कुल लागतको १५ प्रतिशत नगरपालिकाले साझेदारी गरेको हो ।   

यस्तै, जैमिनी नगरपालिकाले ५५ खरका छाना विस्थापित गरेको छ । खरका छाना विस्थापित गरेर नगरपालिकाले जस्तापाता उपलब्ध गराएपछि गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार खुसी बनेका छन् । जस्तापाताले घर छाएपछि वर्षेनी छाना फेरिरहनु पर्ने विपन्न परिवारको बाध्यता अन्त्य भएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button