तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय तहलाई माग्ने बनाउन मिल्दैन’

हेटौँडा । बागमती प्रदेशका स्थानीय तह प्रमुख र उपप्रमुखहरूले सङ्घीयतालाई बलियो बनाउनका लागि स्थानीय सरकारलाई माग्ने बनाउने कार्य हटाइनुपर्नेमा जोड दिनुभएको छ ।

सङ्घीय संसद् सचिवालयको आयोजनामा आज यहाँ आयोजित राष्ट्रियसभामा सदस्य र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखबीचको समन्वय बैठकमा यस्तो बताउनुभएको हो । 

काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले स्थानीय तहलाई स्रोतसाधन र राजस्व परिचालनमा सम्पन्न बनाइएमा सङ्घ र प्रदेश सरकारको अनुदानको आशा गर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई माग्ने बनाइएको छ, जसको नमूना हाल सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रालयहरूमा देख्न सकिन्छ, हामी हाम्रो भूगोलको आवश्यकता र पहिचानका आधारमा कार्यक्रम बनाउन चाहन्छौँ, त्यसका लागि संवैधानिक जटिलताहरू हटाइनुपर्छ ।” 

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले उपसचिव वा सो सरहको प्रमुख प्रशासकीय अधिकृतलाई पालिकामा नियुक्त गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “एउटा पालिकालाई समृद्ध बनाउनका लागि जनप्रतिनिधिसँगै कर्मचारीको पनि उत्तिकै भूमिका हुन्छ, त्यसैले पालिकामा सक्षम प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्‍यो ।” 

विदुर नगरपालिकाका उपाध्यक्ष प्रभा बोगटीले बजेट बनाउन र कार्यान्वयन गर्न समस्या भएकाले यस्ता जटिलता हटाउन पहल आवश्यक रहेको बताउनुभयो । 

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले संविधान संशोधन हुँदा स्थानीय, प्रदेश र सङ्घको निर्वाचन एकैदिन एकै मतपत्रमा हुनुपर्ने बताउनुभयो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले संविधानको मर्मलाई ख्याल गरे अधिकार कटौती नहुने बताउनुभयो । 

छलफलमा स्थानीय सरकार सञ्चालनका क्रममा आइपरेको समस्या, केन्द्रमा बनेका कानुनले स्थानीय तहमा कार्य सम्पादनमा आएको कठिनाइ, झन्झटिलो राजस्व सङ्कलन प्रक्रिया, तीन तहका सरकारबीच समन्वयलगायतका विषयमा सहभागीले गुनासो राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button