बडिमालिका मन्दिर निर्माणको कार्य तीव्र
बाजुरा । बाजुराको धार्मिक,पर्यटकीय र ऐतिहासिक स्थल बडिमालिकामा नेपाली सेनाले मन्दिर निर्माणको कार्य तीव्र बनाएको छ । बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र उपाध्यायले बताउनुभयो ।
२०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि भौगोलिक विकटता लगायत विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । विगतमा पुरातत्त्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल गरेको भए पनि निर्माण हुन नसकेको पुजारी उपाध्यायको भनाइ छ। यसअघि सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण कार्य हुन सकेको थिएन । यो पटक भने नेपाली सेनाको सक्रियतामा मन्दिर निर्माण कार्य तीव्र पारिएको छ।पुरानो मन्दिर भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण हुने भएको हो ।पुजारी उपाध्यायका अनुसार मन्दिर करिब २ करोड लागतमा निर्माण हुन लागेको हो ।
सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत र बडिमालिका नगरपालिका ५ बाट स्थानीय र खच्चर मार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरिरहेको छ । दुई महिनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने तयारीमा सेना रहेको छ ।पुरातत्त्व विभागको प्राविधिक सहयोग र डिजाइन स्टमेटमा मन्दिर निर्माण हुन लागेको सेनाले जनाएको छ । रकम भने नेपाली सेनाको कोषबाट खर्च हुने भएको छ ।
सेनाले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक क्षेत्रको संरक्षणअन्तर्गत मन्दिर निर्माण गर्न लागेको बताइएको छ । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग हुने छ । बडिमालिकामा प्रत्येक वर्ष जनैपुर्णिमाका दिन मेला तथा मुख्य पूजा हुने गर्छ । विगतका वर्षभन्दा पछिल्लो समय धेरै आन्तरिक पर्यटकले बडिमालिकाको दर्शन तथा बडिमालिका क्षेत्रको भ्रमण गर्ने गरिरहेका छन् ।
देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका ४ धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ ।
प्रतिक्रिया राख्नुहोस्