तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियामा नेपाली प्रसारक तिमल्सिना पुरस्कृत

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफएममा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा सञ्चालक प्रदीप तिमल्सिना पुरस्कृत हुनुभएको छ । 

अष्ट्रेलियाका भाषाभाषीहरूको प्रसारक छाता सङ्गठन नेसनल इथ्निक एन्ड मल्टिकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (एनएमबिसी) द्वारा हरेक वर्ष प्रदान गरिने ‘कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५’ बाट हालै उहाँलाई पुरस्कृत गरिएको हो । 

पुरस्कारका लागि अष्ट्रेलियाभरबाट विभिन्न आठ विधाबाट ५१ जना मनोनयनमा परेका थिए, जसमध्ये आफूलाई तीन विधामा मनोनयन गरिएकामा ‘कम्युनिटी इम्प्याक्ट अवार्ड’ प्रदान गरिएको तिमल्सिनाले जानकारी दिनुभयो । 

उहाँलाई उत्पादित कार्यक्रमको गुणस्तरीयता, दर्शकरस्रोतको प्रतिक्रियाको मूल्याङ्कन गरी ती सामग्रीले अष्ट्रेलियाली बहुसांस्कृतिक समुदायमा पुर्याएको सकारात्मक प्रभावका आधारमा उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।  

तिमल्सिनाले यो पुरस्कारले आफूलाई थप जिम्मेवारी थपिएको र समुदायप्रति आफू अझ कर्तव्यनिष्ठ हुन उत्प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । उहाँ सन् २००८ मा अष्ट्रेलिया गएदेखि नै अष्ट्रेलियाका सामुदायिक रेडियोमा आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button