तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदीबाट खेतमा पानी पुर्‍याउन श्रमदान

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाको ओखरिया कर्णाली नदीबाट खेतमा पानी पुर्‍याउनका लागि स्थानीयले बृहत् श्रमदान गरेका छन् । 

धानको ब्याड राख्ने समयमा गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सिँचाइ हुने बुढीकुलोमा पर्याप्त पानी नआएपछि करिब चार हजार स्थानीयवासीले श्रमदान गरेका हुन् । 

बुढिकुलो राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सिँचाइका लागि महत्वपूर्ण नहर हो । तर कर्णाली नदी पश्चिम भंगालोतर्फ लागेपछि बुढिकुलोको मुहानमा पानीको अभाव हुने गरेको छ । 

कर्णाली नदी पश्चिमतर्फ लागेपछि पानीको समस्या हुने बित्तिकै स्थानीयवासी श्रमदान गर्न ओखरिया पुग्ने गरेका छन् । गाउँबाट झाला पाता काठ दाउरासहित ट्याक्टरमा जाने गर्दछन् । 

पश्चिमतर्फ गएको कर्णालीको पानीलाई छेकेर बुढिकुलोमा फर्काउनका लागि श्रमदान गरेको राजापुर नगरपालिका वडा नं १ दौलतपुरका कुलापानी चौधरी ऋषुलाल चौधरीले बताउनुभयो । 

उहाँले बुढिकुलोमा पानी नआउँदा चैतेधान र बसन्ते मकै सुकेको बताउँदै बर्षे धानको ब्याड राख्न नपाएको गुनासो गर्नुभयो । धानको ब्याड राख्ने समयमा पानी नभएपछि बुढिकुलोको सिञ्चित क्षेत्रका स्थानीयबासीहरूले श्रमदान गरेको उहाँले बताउनुभयो ।

राजापुर र गेरुवा गाउँपालिकाका लागि सिँचाइ कुलो निर्माण भए पनि भरपर्दो र स्थायी संरचना नभएको कारण हरेक वर्ष श्रमदान गर्न जानुपर्ने बाध्यता रहेको गेरुवा गाउँपालिका वडा नं  १ का पूर्व वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो । उहाँले स्थायी प्रकृतिको नहर निर्माण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । 

स्थानीयबासीले निर्माण गरेको अस्थायी प्रकृतिको बाँध पटक पटक बाढीले भत्काएर दुःख दिने गरेको गेरुवा गाउँपालिका वडा नं ६ गिदरपुरका पुस्कर काफ्लेले बताउनुभयो । पछिल्लो समय राजापुर र गेरुवाबासी सिँचाइका कारण दुःख पाइरहेको गुनासो गर्नुभयो । 

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा १२ वटा शाखामार्फत करिब ११ हजार हेक्टरमा बुढिकुलोबाट सिचाई हुने गरेको छ । गेरुवाको पानी कर्णालीको पश्चिम भँगालो तर्फ गएको हुनाले समस्या देखापरेको राजापुर सिँचाई आयोजनाका प्रमुख रामकृष्ण घोडासैनीले बताउनुभयो । उहाँले आगामी वर्षमा बुढीकुलोमा पानी ल्याउनका लागि थप सुधार गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button