तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा रेबिज सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएपछि अनुगमन थालियो 

चितवन  । चितवनको रत्ननगरमा रेबिज सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएपछि अनुगमन थालिएको छ ।  

रत्ननगर–१६, खैरेटीका ७२ वर्षीय दिगम्बर श्रेष्ठको सोमबार टेकु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनापश्चात् रत्ननगर–१६ का अध्यक्ष हेमराज थापा, स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेल र पिठुवा स्वास्थ्य चौकीका प्रमुख नरहरि श्याम शर्मा श्रेष्ठको घर परिवारमा पुगेर अनुगमन तथा घटनाको बारेमा जानकारी लिनुभएको थियो  ।

अनुगमनका क्रममा रत्ननगर–१६, खैरेटी क्षेत्रमा स्याल र कुकुरको जोखिम रहेको पाइएको थियो । रत्ननगर–१६ का अध्यक्ष हेमराज थापाले स्थानीयवासीलाई स्वास्थ्य सचेतनासँगै घरपालुवा कुकुर र भुस्याहा कुकुरको खोजी गरी भ्याक्सिन कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो  ।

यस्तै, जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले पशु शाखासँग समन्वय गरी भुस्याहा कुकुरको बन्ध्याकरण गर्न सहजीकरण गर्ने बताउनुभयो ।

पिठुवा स्वास्थ्य चौकीका प्रमुख नरहरि श्याम शर्माले कुकुर पाल्ने परिवारले कुकुरलाई घर बाहिर नछाड्न र सुई लगाएको घर पालुवा कुकुरले टोके पनि रेबिज विरुद्धको भ्याक्सिन लगाउन आग्रह गर्नुभएको थियो  ।

श्रेष्ठ परिवारका अनुसार गत माघ महिनामा घरमै पालिएको तीन महिनाको कुकुरले दिगम्बरसँगै परिवारका सदस्यहरु र अन्य छिमेकी गरी ६ जनालाई टोकेको थियो । परिवारका सदस्य र छिमेकीले रेबिज विरुद्धको सुई लगाएका थिए ।तर, ७२ वर्षका दिगम्बरले रेबिज विरुद्धको सुई लगाउन मान्नुभएको थिएन । 

अन्ततः सुई लगाएकाहरूलाई केही भएन । दिगम्बर बिरामी परे । चितवन मेडिकल कलेजमा उपचार गर्दा पनि रोगको निदान भएन । डाक्टरले रोगको लक्षण पत्ता लगाउन नसकेपछि दिगम्बरकी श्रीमती रिता श्रेष्ठले माघमा कुकुरले टोकेको बताउनुभयो । त्यसपछि सिएमसीले यहाँ उपचार सम्भव नभएको भन्दै टेकु अस्पताल रेफर गरिदिएको थियो । 

रेबिजकै कारण इच्छाकामनामा एक र खैरहनीमा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button