तपाईँ सुन्दै हुनुहुन्छः

डायलासिस सेवा सञ्चालनमा ३०–३५ लाख खर्च अनुमान, स्थानीय बिरामीहरूलाई राहतको आशा

नवलपरासी (पश्चिम)। बर्दघाट नगरपालिका र सहिद स्मृति सामुदायिक अस्पतालको अगुवाईमा मृगौला पीडित बचाउ महाअभियान सुरु गरिएको छ। एक विशेष समारोहमार्फत अभियानको औपचारिक सुरुवात गरिएको हो।

धुलिखेल अस्पतालको सहकार्यमा बर्दघाट–१४ स्थित चौपता अस्पतालमा ४ थान हेमोडायलासिस मेसिन उपलब्ध गराइएको छ। संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा यी उपकरणहरू ल्याइएका हुन्।

अभियान शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले अस्पतालको विकासमा योगदान दिने सबैको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले अभियानमा प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार “एक घर, एक हजार” सङ्कलन अभियानमार्फत आम नागरिकले स्वैच्छिक रूपमा सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। अस्पतालमा उपकरणहरू भए पनि आर्थिक अभावका कारण सेवा सञ्चालनमा समस्या भएको भन्दै सहयोग जुटाउन अभियान सुरु गरिएको हो।

श्रेष्ठले कानुनी सीमाका कारण स्थानीय सरकारले सीधै तलब भत्ता लगायतमा लगानी गर्न नसक्ने स्थिति रहेको उल्लेख गर्दै, १०–१५ हजार नागरिकलाई अभियानमा जोड्ने लक्ष्य रहेको बताउनुभयो ।

हाल जिल्लामै डायलासिस सेवा नहुँदा बिरामीहरूलाई बुटवल वा भैरहवा जानुपर्ने बाध्यता थियो। सेवा सुरु भएपछि बर्दघाटमै सुलभ रूपमा उपचार सम्भव हुने र बिरामीहरू राहत पाउने विश्वास लिइएको छ।

बर्दघाट–१४ का माधव तिवारीले पहिले उपचारका लागि भोगेका कठिनाइ सुनाउँदै स्थानीय स्तरमै सेवा सञ्चालन हुन लाग्दा धेरैलाई पुनर्जीवन प्राप्त हुने बताउनुभयो । बर्दघाट नगरक्षेत्रमै हाल ५२ जना मृगौला पीडित नियमित डायलासिस गराइरहेका छन्।

अस्पताल विकास केन्द्रका अध्यक्ष डिलबहादुर थापाका अनुसार हाल चार डायलासिस मेसिन तयारी अवस्थामा छन्। सेवा विस्तारका लागि जिल्लाका सातै पालिकासँग सहकार्यको पहल भइरहेको छ। सेवा सुचारु गर्न प्रारम्भिक रूपमा ३०–३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

२०६४ सालमा स्थापना भएको अस्पतालले हालसम्म प्रभावकारी सेवा दिन नसकेको भन्दै, डायलासिस सेवा र ओटीसहितको बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना रहेको जनाइएको छ। अभियानका लागि नगर कार्यपालिकाले कार्यदल समिति गठन गरी कार्य अघि बढाइएको छ। सङ्कलन अभियानको सुरुवातमा नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button