तपाईँ सुन्दै हुनुहुन्छः

‘जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली स्वीकार्य छैन’

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले०)का महासचिव शङ्कर पोखरेलले जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली नेपाली जनतालाई स्वीकार्य नहुने धारणा राख्नुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा आयोजित समारोहमा उहाँले पूर्व राजासहित समर्थकहरूले जनताको सम्प्रभुता खोस्ने षड्यन्त्र गरिरहेका बताउँदै गणतन्त्र विरोधी गतिविधि नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो ।

राजाको शासन व्यवस्थामा जन्मजात श्रेष्ठतालाई मान्यता दिइए पनि वर्तमान सन्दर्भमा यो प्रणाली स्विकार्न नसकिने बताउँदै महासचिव पोखरेलले पछिल्ला समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू बढिरहेकाले यस विरुद्ध गणतन्त्र पक्षधर सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाली कांग्रेस र एमाले नेतृत्वको वर्तमान सरकारले रेलमार्ग, सुरुङमार्गलगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा उपलब्धिमूलक काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । “यसअघि पनि एमाले नेतृत्वको सरकारका समयमा मुलुकमा विकास, निर्माणका क्षेत्रमा उल्लेख्य काम भएका थिए”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताको सुरुआतसहित अन्य सामाजिक क्षेत्रमा सकारात्मक र उपलब्धिमूलक काम पार्टी नेतृत्वबाट भएका छन् ।” मुलुक बनाउन युवाहरू जागरूक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न स्थानीय उत्पादनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रको विकास र समृद्धिका लागि युवा जागरूक हुनुपर्ने उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष क्षितिज थेवेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन प्रमुख भानुभक्त ढकाल, राष्ट्रिय युवा सङ्घका इञ्चार्ज राजीव पहारी, सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतलगायत वक्ताले महाधिवेशनको सफलताको कामना गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button