तपाईँ सुन्दै हुनुहुन्छः

कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मातहत रहेका विभाग तथा संस्थानहरूलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयद्वारा यहाँ आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उहाँले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेका सम्झौताबमोजिम काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।  

मन्त्री भण्डारीले प्रधानमन्त्रीसँग आफूले र आफूसँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेका सम्झौताको शतप्रतिशत नतिजा दिनु पर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कतिपय निकायले नीतिगत समस्या वा अन्य बहाना देखाउँदै काममा ढिलासुस्ती गर्ने गरेकाले अब ती बहाना स्वीकार्य नहुने उहाँको भनाइ छ । 

मन्त्री भण्डारीले भन्नुभयो, “हामीले आर्थिक वर्षको सुरुआतमा जे छलफल ग¥यौँ, त्यसको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ । तीमध्ये कतिपय कामहरू सम्पन्न पनि भएका छन् तर सम्झौताअनुरूप सन्तोषजनक उपलब्धि हासिल भएका छैनन् । कतिपय काम अधुरा छन्, ती समयमा सम्पन्न पूरा गरेर देखाउनु छ, त्यसमा असफल हुने छुट कसैलाई छैन ।” उहाँले मन्त्रालय मातहत रहेका सबै निकायलाई आजका मितिदेखि कामको गति बढाउन निर्देशनसमेत दिनुभयो ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद् विषय भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कर्मचारीहरूलाई आवश्यक पर्ने सबै सुविधा हामीसँग हुँदाहुँदै पनि कहिलेकाहीँ जोखिम लिन नसक्ने, समन्वय गर्न नसक्नेलगायत कारणले कामले गति लिन सक्दैन । समस्याहरू केही भए केके छन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधानसहित परिणाममुखी काममा लागौँ ।” 

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पूरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुख, मातहत संस्थानका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितिमा चालु आर्थिक वर्षको सुरुआतमा लिइएका लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button