‘लोकतन्त्र, समृद्धि र सुशासनमा पिएसबीको भूमिका महत्वपूर्ण’
समाचार र कार्यक्रमलाई अब जनता केन्द्रित बनाउनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्ना समाचार र कार्यक्रमलाई अब जनता केन्द्रित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सार्वजनिक सेवा प्रसारण–पिएसबी नेपालले आज रेडियो नेपाल र नेपाल टेलिभिजनमा आयोजना गरेको कार्यक्रम तथा समाचारमा रूपान्तरण बहस कार्यक्रममा समाजका विविध क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहभागीहरूले पिएसबीले मुलुकको विविधताभित्र राष्ट्रिय एकता तथा सद्भाव अभिवृद्धि गर्नुपर्नेमा जोड दिनभयो ।

सहभागीहरूले रेडियो नेपाल र नेपाल टेलिभिजनले सामाजिक दायित्व पूरा गर्दै आइरहेकोले अब यी दुई संस्था सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भइसकेकोले सरोकारवाला क्षेत्रबाट पनि आफ्ना सरोकारका विषयमा आवाज उठाउन पिएसबीलाई सहयोग पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बहसमा सहभागी ज्येष्ठ नागरिक, महिला, दलित, युवा, पर्यटन, उपभोक्ता हक अधिकार, साहित्य, विपद्, गीत सङ्गीत, उद्योगी व्यवसायी, खेलकुद र विभिन्न भाषाका प्रतिनिधिहरूले पिएसबीले लोकतन्त्रको संस्थागत विकास र सुशासनमा टेवा पुर्याउने गरी आम जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो ।

बहस कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन पिएसबीमा रूपान्तरण भई एकीकृत भइसकेकोले पिएसबीको विश्वव्यापी मूल्य मान्यता र नेपालको आफ्नै विशिष्टतामा आधारित भएर जनता केन्द्रित प्रसारणमा अघि बढ्ने सरोकारवालाको अपेक्षा तथा सुझाव महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले, पिएसबीको गठनसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई लाग्दै आएको सरकारी प्रचार यन्त्रको आरोपबाट अब यी दुई संस्था मुक्त भएर जनता पहिलो भन्ने मान्यताका साथ अघि बढेको प्रष्ट पार्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य अनिता गुरुङले सरोकारवाला क्षेत्रका सहभागीहरूबाट प्राप्त सुझाव मननयोग्य भएको र संस्थालाई नागरिक केन्द्रित भएर अघि बढाउन प्रेरणा मिलेको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नो इतिहासलाई निरन्तरता दिँदै मुलुक र समाजप्रतिको उत्तरदायित्व पूरा गर्न विज्ञहरुबाट आएका सुझावहरूलाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


रेडियो नेपालको बहस कार्यक्रममा विभिन्न क्षेत्रबाट गरी विजया दाहाल, गोविन्द निरौला, ननिता खत्री, महेश्वरी विष्ट, डा.दिपेश घिमिरे, डा. बीरेन्द्रराज पोखरेल, गौरा नेपाली, भरतबन्धु थापा, देबीकृष्ण रोकाय, माधव तिम्लिसिना, डा.पुरण राई, विनोद पराजुली, सूर्यमाया दनुवार, बाबुलाल तामाङ, जाकिर हुसेन, पेम्बा शेर्पा, कृष्णराम किसी र चूडामणि यादवलगायत सहभागी हुनुहुन्थ्यो ।





























तस्बिर: मिलन ढुङ्गाना / नरेन्द्र विष्ट
प्रतिक्रिया राख्नुहोस्