सूचना प्रविधिमा महिलाहरूको समान पहुँच हुनुपर्नेमा सरोकारवालाहरुको जोड
काठमाडौँ । विश्वव्यापी रुपमा विस्तार भइरहेको अत्याधुनिक सूचना प्रविधिमा किशोरी तथा महिलाहरूको समान पहुँच हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले आज ललितपुरमा आयोजना गरेको गर्ल इन आइसिटी सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सरकारले सबै किशोरी तथा महिलाहरूमा प्रविधिको पहुँच पुर्याउने गरी काम गरिरहेको बताउनुभयो ।
सचिव अर्यालले पुरुषहरूको तुलनामा किशोरी तथा महिलाहरू प्रविधिको क्षेत्रमा पछि परेकाले उनीहरूलाई प्रविधिको पहुँच र प्रयोगमा प्रोत्साहन गर्ने गरी विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।
समारोहमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष उपेन्द्र भण्डारीले सरकारले विद्यालय तहदेखि नै बालिकाहरूलाई सूचना प्रविधिमा अभ्यस्त हुने गरी कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अनिता निरौलाले सूचना प्रविधिमा समावेशी पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
यस अवसरमा युनेस्को र अन्तर्राष्ट्रिय दूरसञ्चार संघका प्रतिनिधिले बालिकाहरूमा सूचना प्रविधिमा पहुँच पुर्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासबारे अनुभव प्रस्तुत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्