राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नेपालमा रोजगारीको सिर्जना, सुशासन, स्वास्थ्य क्षेत्रको सुधार, विपद् न्युनिकरणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको विशेष समयमा सांसद नारायणदत्त मिश्रले बजेटमा करको दर बढाउने विषयले चलखेल बढाउने भन्दै करको दर बढ्ने थाहा पाएपछि सामान थुपारे चलखेल शुरु भइसकेको बताउनुभयो ।
उहाँले सत्ता पक्षमा हुँदा बजेटको समर्थन र प्रतिपक्षमा हुँदा विरोध गर्ने भन्दा पनि सांसदहरुले निष्पक्ष रुपमा सत्य तथ्य बोल्नुपर्ने बताउनुभयो ।
सांसद नरबहादुर विष्टले सरकारी अस्पतालमा बिहान ४ बजेबाट लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्दै अनलाइन प्रणालीबाट टिकट काट्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
सांसद जयन्तीदेवी राईले नेपाली सेनामा १६ वर्ष काम गरेपछि पेन्सन पउने भएपनि २० वर्षपछि मात्रै खातामा पैसा आउन शुरु हुने हुँदा चार वर्ष उनीहरू मारमा पर्ने गरेको भन्दै उनीहरूले १६ वर्ष काम गरिसकेपछि लगत्तै रकम पाउने व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरुले हुम्लाका हिमपहिरोका पीडित जनतालाई तुरुन्त उद्धार र राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरुले विपद् व्यवस्थापन गर्ने संस्थागत संरचना र साधनस्रोत नभएको भन्दै विपद् जोखिम न्युनिकरण र नागरिकको सुरक्षाका लागि भइरहेको कामबारे संसदमा जानकारी गराउन माग गर्नुभयो ।
सांसदहरुले शिक्षा क्षेत्रमा रहेको समस्या र चुनौती सामना गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नु आवश्यक रहेको औल्याउदै सार्वजनिक पदधारण गरेका व्यक्ति, शिक्षक कर्मचारी लगायत सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने व्यवस्था गर्न माग गर्नुभयो
सांसदहरु पूजा चौधरीले, रेणुु चन्द, विष्णुदेवी पुडासैनी, गङ्गाकुमारी वेल्वासे, भगवती न्यौपानेले समसामयिक विषय सामाजिक सञ्चालकको प्रभावकारी सञ्चलन, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या समाधान, रोजगारीको सिर्जना लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्