तपाईँ सुन्दै हुनुहुन्छः

भारत लैजाँदै गर्दा जोखिममा परेका १९ जना नेपाली नाबालकको सीमा नाकाबाट उद्धार

रुपन्देही । नेपालबाट भारत बौद्ध गुम्बामा पढाउने भन्दै अनधिकृत रुपमा भारततर्फ लैजाँदै गरिएका १९ जना नेपाली नाबालकलाई रुपन्देही जिल्लाको  बेलहिया सीमा नाकाबाट उद्धार गरिएको छ ।

बसमा चढाएर भैरहवा नाकासम्म ल्याइएका ती बालकहरूलाई नेपाल–भारत बीचको दशगजा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अभिभावक बिना, अध्ययनका लागि बालबालिकालाई विदेश लैजान पुरा गर्नु पर्ने प्रक्रिया पुरा नगरिएपछि र आवश्यक कागजात नभएपछि बालकहरू जोखिममा पर्ने सम्भावना देखेर नेपाल भारतका गैरसरकारी संघ संस्था, नेपाल( भारतका सुरक्षा निकायको सहयोगमा बालबालिकाको उद्धार गरिएको हो ।

भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनेर अभिभावक बिना लगिएका ती नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसार पसार विरुद्ध भारतमा क्रियाशील संस्था ‘किन इन्डिया’ र भारतीय सुरक्षा निकाय एसएसबीको पहलमा उद्धार गरिएको हो ।

 नेपाली केही बालकलाई पढाउने भनेर गैरकानुनी रुपमा बसबाट भारततर्फ लैजाँदै गरिएको जानकारी प्राप्त हुनासाथ तत्कालै भारतीय सुरक्षा निकाय एसएसबीसँग सहकार्य गरि विभिन्न संस्था र नेपाल प्रहरीको सहकार्यमा उनीहरूको उद्धार गरिएको शुभ अवसर ग्राम नेपाल भैरहवा शाखा संयोजक सत्य नारायण यादवले बताउनुभयो  ।

अभिभावक बिना कुनै पनि बालकलाई एक अर्को देशमा लैजानु पर्दा सरकारी स्तरबाटै कागजात हुनु पर्ने प्रावधान रहेको तर कुनै कागजात नभएका कारण शङ्कास्पद रहेको यादवले बताउनुभयो।  उद्धार गरिएका ती बालक सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाका छन् । सिमानाबाट उनीहरूलाई फर्काएर एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । उनीहरू १० देखि १६ वर्षसम्म उमेरका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बालकलाई सम्बन्धित अभिभावकको जिम्मामा घर पठाउने तयारी गरिएको हाल बाल हेल्प लाइनमा राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताउनुभयो । ‘उनीहरुलाई गुम्बामा पढाउने भनेर अभिभावकसँग सहमति गरेर भारत लगिएको रहेछ’, डीएसपी कार्कीले भन्नुभयो ‘तर प्रक्रिया नपुर्‍याइ लगिएकाले बालकहरूलाई अभिभावक समक्ष पुग्ने व्यवस्था मिलाउँदै छौँ ।’

विभिन्न जिल्लाका बालकहरू लैजाँदै गर्दा कुनै सरकारी कागज नभएको र शङ्कास्पद लागेकाले बालकलाई फर्काइएको डिएसपी कार्कीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button