‘तिलौराकोट र पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने तयारी’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोट र काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा पुरातत्त्व विभागले आज हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काम भइरहेको र अन्य स्थललाई थप व्यवस्थित गरेर तयारी गर्दै लैजाने बताउनुभयो । नेपालका सङ्ग्रहालयमा वार्षिक लाखौँ पर्यटक आमन्त्रण गर्न सकिने भएकाले त्यसै अनुसार व्यवस्थापन र प्रचारप्रसार गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो ।
जर्मनीको सात सय वर्ष पुरानो हाइडलवर्ग विश्वविद्यालयमा अहिले पनि नेपालका पुराना सम्पदा सुरक्षित रहेको उल्लेख गर्नुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको नौतले दरबार पुनः निर्माणपछि आजैदेखि अवलोकनकर्ताका लागि शुभारम्भ गरिएको छ । दरबारको नवौँ तलामा पुगेर मन्त्री पाण्डेले पुनः निर्मित दरबारको उद्घाटन गर्नुभयो ।
भूकम्पले भत्किएका संरचना उही रुपमा पुनःनिर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उहाँले लिच्छवि कालकै स्वरूपमा काष्ठमण्डप पुनःनिर्माण गर्नसक्ने सिद्धहस्त अहिले पनि देशमा भएकामा गौरव गर्नुपर्ने बताउनुभयो ।
पाटन र भक्तपुर दरबार क्षेत्रका साथै हाँडी गाउँ लगायत काठमाडौँ उपत्यकाका पुराना बस्तीमा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि सम्पदाको संरक्षण गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो ।
सांसद सपना राजभण्डारीले काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको वर्षौँ बिते पनि सर्वसाधारणका लागि खुला नगरिँदा यहाँको संस्कृति लोप हुन लागेकोतर्फ संस्कृति मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मैना कार्कीले सम्पदाको संरक्षणबाट नेपाल समृद्ध बन्ने भएकाले देशभरका सम्पदा संरक्षणमा जुट्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये वसन्तपुरको नौतले दरबार र नुवाकोटको सात तले दरबार चीन सरकारलाई पुनःनिर्माणका लागि दिएकामा नौतले दरबारको काम सम्पन्न भई आजैदेखि सर्वसाधारण अवलोकनकर्ताका लागि खुला गरिएको जानकारी दिनुभयो ।
भक्तपुरस्थित कला सङ्ग्रहालय प्रमुख जयन्ती प्रधानले सन् १९७७ देखि अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयो । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले यस वर्षको सङ्ग्रहालय दिवसको कार्यक्रम आजैदेखि अन्त्य गरिएको जानकारी गराउनुभयो ।
प्रत्येक वर्ष मे १८ लाई अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्ष यो दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको थियो । कार्यक्रममा हनुमानढोका दरबार क्षेत्रमा मङ्गल धुन परम्परालाई निरन्तरता दिन र पुस्तान्तरणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई मन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्