‘ललितकला प्रतिष्ठानले सबै विधाहरूको विकास गर्ने लक्ष्य राखेको छ’
भोजपुर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधामा प्रतिष्ठानले बिकास गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।

भोजपुर नगरपालिकासँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जिल्ला सदरमुकाममा मङ्गलवार गरेको एक दिवसीय गोष्ठीमा कुलपति हार्तम्छालीले प्रतिष्ठानको स्थापना, उद्देश्य, गर्दै आइरहेका कार्यहरू, समस्या र चुनौतीका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।
चित्रकला, परम्परागत, शिल्पकला, लोककला, हस्तकला, वास्तुकला, वैकल्पिक तथा अन्य सृजनात्मक कलाका लागि प्रतिष्ठानमा विभिन्न विभागहरू समेत गठन भएको उहाँले बताउनुभयो । रैथाने कलाको संरक्षण र संवर्द्धन जरुरी रहेकोमा कुलपति हार्तम्छालीले जोड दिनुभयो ।
भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले ललित कलालाई प्रोत्साहन गर्न जरुरी रहेको बताउँदै गुरु योजना निर्माणमा ध्यान नदिँदा घरेलु उद्योगहरू समेत धराशायी बन्दै गएको बताउनुभयो ।
यस्तै नेपाल लालित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाले लोप भएर गएका रैथाने कलाको संरक्षण र संवर्द्धन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा भोजपुरका परम्परागत कला कौशलहरूका विषय समेटेर सङ्कलक तीर्थराज मुकारुङ राई र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले तयार गर्नु भएको कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्