कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको छ ।

उहाँले राष्ट्रहित, लोकतन्त्र र अधिकार प्राप्तिका लागि अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै घाइते र बेपत्ता योद्धाले पुर्याउनु भएको योगदानको स्मरण गर्नुभयो ।
प्रदेश प्रमुख खापुङ्गले सबै आन्दोलन तथा सङ्घर्षको नेतृत्व गर्ने अग्रप्रति उच्च सम्मान व्यक्त गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने लक्ष्यका साथ प्रदेशमा नीतिगत, कानुनी तथा संस्थागत आधार तयार भई प्रदेशबाट सम्पादन गर्नु पर्ने कार्यले निरन्तरता पाएको बताउनुभयो ।
नीति तथा कार्यक्रममा प्रदेश संरचनाको महत्व र आवश्यकतालाई केन्द्रमा राखी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्ने, आन्तरिक राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने, भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत अन्य पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासमा जोड दिने उल्लेख छ ।
यसैगरी शासन व्यवस्थालाई चुस्तदुरुस्त बनाउन प्रदेशको शान्ति सुरक्षा तथा अमनचैनलाई उच्च प्राथमिकता राखिने, जनताको जिउधनको सुरक्षाका लागि प्रदेशस्तरीय सुरक्षा निकायसँगको समन्वयमा थप कार्ययोजना बनाई कार्यान्वयन गरिने र सुरक्षा निकायको भौतिक तथा संस्थागत क्षमतालाई सुदृढीकरण गरिनेसमेत भनिएको छ ।
यस्तै, भाषा आयोगबाट सिफारिस भई आएका मैथिली र लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन आवश्यक व्यवस्था मिलाउने, बृहत् बराह क्षेत्र, हलेसी, पाथीभरा र केचना कञ्चनजङ्घा विकास समितिलाई एकीकृत नीतिगत व्यवस्था गरी थप सुदृढीकरण गरिने, प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक महत्वका क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गरिने, हिमाली र पहाडी क्षेत्रका विद्यालयको भौतिक संरचना सुदृढ गरिने नीति तथा कार्यक्रम स्पष्ट गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवार’, ‘स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय’, ‘खोज र खोप’ जस्ता नारामा आधारित कार्यक्रम एवं व्यवस्थापनका लागि आवश्यक कार्यनीति तथा कार्यक्रम उल्लेख गर्दै पदमार्गमा आधारित पर्यटन विकासलाई थप विस्तार गर्ने सरकारको योजना रहेको उल्लेख छ ।
नीति तथा कार्यक्रमपछि १५ मिनेटका लागि स्थगन भएको सदन पुनः सञ्चालन भएपछि प्रदेश प्रमुख खापुङ्गले सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रमका लागि सदनमा धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।
अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्