तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा : केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक, २०८१ सभा समक्ष पेस गर्नुभयो ।

राष्ट्रिय सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आयोजनाहरू समयमै सम्पन्न नहुनुमा कुनै पक्षको स्वार्थ देखिए त्यसको छानविन गरी उपयुक्त कदम चाल्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री दाहालले आयोजना समयमै सम्पन्न गर्ने उद्देश्य राखी हाल सबै आयोजनाहरूको कार्ययोजना निर्माण गरी समयतालिका र जिम्मेवार पदाधिकारी तोकी हरेक महिना समीक्षा गर्ने गरिएको जानकारी गराउनुभयो ।

मन्त्री पौडेलले आयोजनाहरू समयभित्र सम्पन्न हुनुपर्नेमा मन्त्रालय सजग रहेको भन्नुहुँदै निर्माण सामग्रीको अभाव र व्यवसायीको लापरबाही तथा व्यवस्थापनको कमजोरीका कारण केही आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको पनि बताउनुभयो । 

यस्तै बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुहुँदै  युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अपाङ्गता भएका खेलाडीलाई प्राथमिकता दिइएको, राष्ट्रिय स्तरका रङ्गशालाहरूलाई समावेशी, विशेष क्षमता भएका खेलाडीमैत्री पूर्वाधार विकास गर्न मन्त्रालय लागिरहेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीले नेपाली खेलाडीहरूको विश्वस्तरीय खेलमा सहभागिता रहे पनि  नीतिगत अप्ठ्याराका कारण खेलाडीहरूको प्रोत्साहन गर्न नसकिएको बताउनुभयो ।

यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले वर्षायाम सुरु भएकाले बाढि पहिरोबाट हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि सरकारले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

बैठकमा सांसदहरुले हुम्लाको नाम्खाँ गाउँपालिका वडानं ६ स्थित लेदोसहितको गएको बाढि पहिरोका कारण १९ घरपरिवार ३३ जना नागरिक अलपत्र हुनुपरेको भन्दै पीडित परिवारको सुरक्षित वासस्थान र उचित क्षतिपूर्तिको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

यस्तै सांसदहरुले विद्युतीय तार जडानका क्रममा करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिकाका उमेश नेपालीको ज्यान जानुको कारण विद्युत् प्राधिकरणको लापरवाही भएको भन्दै दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ ।

बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले सबै क्षेत्रहरूका लागि सन्तुलित बजेटको व्यवस्थापनले मात्र सन्तुलित रुपमा देशको विकास हुने बताउनुभएको छ । 

बैठकमा सांसद नारायणदत्त भट्टले यसअघि लगानी भई सम्पन्न हुन बाँकी योजनाहरूलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले धार्मिक पर्यटनको हिसाबले सुदूरपश्चिम प्रदेशमा उच्च सम्भावना भएकोले खप्तड, बढिमालिका जस्ता धार्मिक पर्यटनका क्षेत्रहरूको पहिचान गरी सरकारले यथोचित लगानी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

सांसद जगप्रसाद शर्माले प्रदेशले सरकारले प्रभावकारी काम गर्न नसकेको, पुँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको अवस्थालाई मध्यनजर केन्द्रीय सरकारले बजेटको बाँडफाँड गर्नुपर्ने बताउनुभयो । 

सांसद शर्माले लुम्बिनी प्रदेश सभ्यता र संस्कृतिमा समृद्ध हुनुका साथै कृषि, जडीबुटी उत्पादनको क्षेत्र पनि भएकोले आर्थिक पर्यटनको रुपमा प्रदेशको विकास गर्न जरुरी रहेको बताउनुभयो । 

सांसद गोमा देवी तिमिल्सिनाले बाह्यबाट मुलुकबाट ठुलो परिमाणमा सुन तस्करी हुनेगरेको घटनाप्रति सरकारको कार्यशैली कमजोर भएको औंल्याउनुभयाे ।

यस्तै सांसद तिमल्सिनाले ग्याँसको मूल्य वृद्धि र ग्यास विस्फोटका कारण आम नागरिक मारमा परेको भन्नुहुँदै उपभोक्ताको हितलाई मध्यनगर गर्न आग्रह गर्नुभयो ।

बैठकमा सांसद मोहम्मद खालिद,पदम बहादुर परियार,मदन कुमारी शाह,राधेश्याम पासवान र तुलसा कुमारी दाहालले प्रदेशगत सरोकारका विषयमा धारणा राख्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ ७ गते बुधवार १ः१५ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button