राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले वर्षायाम सुरु भएकाले बाढि पहिरोबाट हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि सरकारले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकमा सांसदहरुले हुम्लाको नाम्खाँ गाउँपालिका वडा न-६ स्थित लेदोसहितको गएको बाढिपहिरोका कारण १९ घरपरिवार ३३ जना नागरिक अलपत्र हुनुपरेको भन्दै पीडित परिवारको सुरक्षित वासस्थान र उचित क्षतिपूर्तिको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
यस्तै सांसदहरुले विद्युतीय तार जडानका क्रममा करेन्ट लागेर सर्लाहीको इश्वरपुर नगरपालिकाका उमेश नेपालीको ज्यान जानुको कारण विद्युत् प्राधिकरणको लापरवाही भएको भन्दै दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ ।
बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले सबै क्षेत्रहरूका लागि सन्तुलित बजेटको व्यवस्थापनले मात्र सन्तुलित रुपमा देशको विकास हुने बताउनुभएको छ ।
बैठकमा सांसद नारायणदत्त भट्टले यसअघि लगानी भई सम्पन्न हुन बाँकी योजनाहरूलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले धार्मिक पर्यटनको हिसाबले सुदूरपश्चिम प्रदेशमा उच्च सम्भावना भएकोले खप्तड, बढिमालिका जस्ता धार्मिक पर्यटनका क्षेत्रहरूको पहिचान गरी सरकारले यथोचित लगानी गर्न आवश्यक रहेकोमा जोड्दिनुभयो ।
सांसद जगप्रसाद शर्माले प्रदेशले सरकारले प्रभावकारी काम गर्न नसकेको, पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको अवस्थालाई मध्यनजर केन्द्रीय सरकारले बजेटको बाँडफाँड गर्नुपर्ने बताउनुभयो ।
सांसद शर्माले लुम्बिनी प्रदेश सभ्यता र संस्कृतिमा समृद्ध हुनुका साथै कृषि, जडीबुटी उत्पादनको क्षेत्र पनि भएकोले आर्थिक पर्यटनको रुपमा प्रदेशको विकास गर्न जरुरी रहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले आफ्नो धारणा राख्नेक्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्