तपाईँ सुन्दै हुनुहुन्छः

धर्मलाई राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्न: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गतेको काठमाडौँको तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ ।

उहाँले तीनकुनेमा गरिएको राजाको वकालत संविधान विपरीत भएकाले त्यसलाई उचित मान्न नसकिने र उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी गराउनुभयो ।

प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री लेखकले आपराधिक कार्यमा संलग्न जो सुकै भएपनि कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

कुनै पनि धर्मलाई आफ्नो अभिष्ट पुरा गर्न प्रयोग गर्नु नहुने भन्दै कुनै पनि घटनालाई धर्मका नाममा उन्मुक्ति दिन नमिल्ने धरण समेत गृहमन्त्री लेखकले राख्नुभयो । 

सांसदहरु प्रेम सुवाल, निशा डाँगी, सोभिता गौतमले गृहमन्त्री लेखकलाई प्रश्न सोध्नुभएको थियो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले सामाजिक सुरक्षा भत्ता तोकिएका व्यक्ति सबैले नागरिकताको प्रमाणपत्रका आधारमा पाउन सक्ने व्यवस्था रहेकाले नागरिकता प्रमाणपत्र नहुनेले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने बताउनुभयो ।

मन्त्री सुडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले नेपालमा कार्यक्रम सञ्चालन गर्न स्वीकृत लिनु पर्ने र स्वीकृत भएको रकम मात्रै परिचालन गर्न सक्ने भएपनि सबै गैरसरकारी संस्था प्रक्रियामा नआएको कारण रकम परिचालनमा समस्या उत्पन्न भइरहेको बताउनुभयो । 

सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले समाज कल्याण परिषदबाट एकद्वार प्रणालीमार्फत हुने कार्यलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैङ्कलाई पत्र लेखी स्वीकृति प्राप्त गरेका संस्थाको रकम मात्र परिचालन गर्न गराउन तथा सहजीकरण गर्न अनुरोध गरेर काम अगाडी बढाइएको बताउनुभयो । 

यसैगरी सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपँक्षी विकास मन्त्री रामनाथ अधिकारीले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति अवलम्बन गरिएको बताउनुभयो ।

सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले धान, चामल, मकै, स्याउ, लसुन र आलुमा नेपाल आत्मनिर्भरता हासिल भई नसकेको बताउनुभयो । 

उहाँले नेपाल कुखुराको मासु, अण्डा र दूधमा आत्मनिर्भर रहेको र नेपालमा पर्याप्त रुपमा उत्पादन हुन सक्ने बाली बस्तुको विकासका लागि चालु आर्थिक वर्षमा रासायनिक मल, गुणस्तरीय बिउ विजन र सिँचाइ सुविधाको सहज र समयमा नै व्यवस्थापनमा जोड दिइएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button