मधेसको धार्मिक परम्पराको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारको सक्रिय सहयोग रहन्छ: मुख्यमन्त्री सिंह

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग आज गहवा माई तीर्थ क्षेत्र विकास समिति वीरगञ्जका पदाधिकारीहरूले आज भेटवार्ता गरी मधेसको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुतालाई झल्काउने गहवामाई रथ यात्रालाई उत्सवको रुपमा मनाउन आवश्यक व्यवस्था मिलाई दिन आग्रह गर्नुभएकाे छ ।
वीरगञ्जमा आयोजना हुने गहवा माई रथ यात्रालाई धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका साथ अघि बढाउने विषयमा मुख्यमन्त्री सिंहसँग गम्भीर छलफल भएको समितिले जनाएको छ ।
गहवा माईको ऐतिहासिक रथ यात्रा आगामी असार १३ गते वीरगञ्जबाट भव्य रूपमा सुरु हुने कार्यक्रम तय भएको छ । रथ यात्राको अवसरमा बीरगंजलाई धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा चिनाउन तथा नागरिकको व्यापक सहभागिता सुनिश्चित गर्न सार्वजनिक बिदा दिन पनि समितिले मुख्यमन्त्री समक्ष अनुरोध गरिएको समितिका सल्लाहाकार श्याम पोखरेलले जानकारी दिनुभयो ।
छलफलमा समितिका पदाधिकारीहरूले रथ यात्रालाई केवल धार्मिक यात्रा नभई, मधेसको समृद्ध सांस्कृतिक पहिचान, आस्था र परम्पराको प्रतीकका रूपमा प्रस्तुत गर्दै यसलाई भव्य र ऐतिहासिक बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।
सो अवसरमा मुख्यमन्त्री सिंहले मधेसको सांस्कृतिक विविधता सँगै धार्मिक परम्पराको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारको सक्रिय सहयोग रहने बताउनुभयो ।
गहवा माई रथ यात्रा वीरगञ्जको गौरवका रूपमा स्थापित हुँदै आएको धार्मिक परम्परा हो । यात्राले मधेसको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुतालाई झल्काउँछ ।
प्रतिक्रिया राख्नुहोस्