नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका सबै २३ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई पनि आज दिगोपना घोषणा गरिएको हो ।

घरधुरी सर्वेक्षणका क्रममा उपमहानगरपालिकाका १५ देखि २३ महिनाका लक्षित ३३ सय ५७ जना बालबालिकाहरूमध्ये ३१ सय ११ जना बालबालिकाले पूर्ण खोपको मात्रा प्राप्त गरेकोमा छुटेका २१८ जना र शून्य डोज बालबालिका २८ जना फेला पारी पूर्ण खोपका लागि नियमानुसार वडा स्वास्थ्य संस्थामार्फत समय तालिका बमोजिम सबै जना खोप लिने क्रममा रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो । त्यसका लागि २३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई घरधुरी सर्वेक्षणका लागि परिचालन गरिएको थियो । घरधुरी सर्वेक्षणका क्रममा १६ देखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले सबै खोपको मात्रा लगाए नलगाएको एकिन गरिएको थियो ।
घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई लगायत सरोकारवालाको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्